काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् ।
सोमबार शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर मन्त्री खरेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरुको बलिदानीको जगमा उभिएको सरकार भएकाले यसले युवाहरुको म्यान्डेडलाई पुरा गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने युवाहरुको मागमा महत्वपूर्ण कदम चाल्नुपर्ने उनले बताए ।
यो सरकारले जसरी कार्यसम्पादन गर्नुपर्ने कुरा नेपाली जनता, जेन–जी पुस्ताबाट म्यान्डेट लिएको छ, ती सरल छन् तर जटिल पनि छन् । यो सरकारले एक्लै गर्ने अवस्था छैन ।’ उनले भने, ‘खास गरेर फागुन २१ गते चुनावको मिति घोषणा भइसकेको छ । जेनजीको महत्वपूर्ण माग भनेको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हो । हामीले यसमा महत्वपूर्ण कदम चाल्नुपर्ने छ ।’
उनले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुननिर्माण गर्न सहज भएपनि जनताको मनमा लागेको चोटको पुननिर्माण गर्न त्यति सहज नभएको जिकिर गरे । मन्त्री खरेलले ६ महिनामा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही कामहरु ६ महिनामा पक्कै गर्ने दाबी गरे ।
उनले भने, ‘खरानी र धुलो टकटक्याउँदै अब हामी यो ६ महिनामा जनतालाई अनुभूत हुने गरेर केही कामहरु पक्कै गर्छौं । देश र जनता बनाउने कुरामा हामी अघि बढ्छौँ ।’
सरकारमा रहेका सदस्यहरुको ध्यान देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरामा हुने उनको भनाइ छ । मन्त्री खरेलले मन्त्रीका तर्फबाट कर्मचारीलाई काम गर्न कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाए ।


























































