काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई थुनामुक्त गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशिला कार्कीको एकल इजलासले सर्वोच्चका रजिष्टरको रोहवरमा अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामक्त गरि सर्वोच्चमा उपस्थित गराउन आदेश दिइएको हो ।


ADVERTISEMENT


अधिवक्ता पुर्णप्रसाद राजवंशीले सिलवाललाई आज प्रहरीले गैरकानुनी रुपमा थुनामा लिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेका थिए। यसअघि, नेपाल प्रहरीले सिलवाललाई छानविनका लागि भन्दै आज विहान नियन्त्रणमा लिएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बोलाएको बैठकमा उपस्थित नभएको, कागजात किर्ते गरेको लगायतका आरोपबारे बयानमा बोलाउँदा नगएपछि सिलवाललाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय उपस्थित गराइएको हो । प्रहरीको छानविन समितिले समेत सिलवालसँग बयान लिएको छ ।
प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले सिलवाललाई बयानका लागि बोलाइएको बताए । सर्वोच्चमा कार्यसम्पादन मुल्याकंन फाइल पेश गर्ने क्रममा किर्ते गरेको पाइएको भन्दै सरकारले प्रहरी प्रधान कार्यालयलाई छानविन गर्न निर्देशन दिएपछि सिलवालमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।


ADVERTISEMENT

# # #