काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसँगै युवा मतदाताको नामावली संकलन गर्ने बाटो खुलेको छ । यसअघि विद्यमान कानुन अनुसार निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली संकलन गर्न नपाइने व्यवस्था थियो ।
जसका कारण मतदाता नामावलीमा आफ्नो नाम टिपाउन नपाएका वा छुटेका लाखौँ मतदाता आगामी फागुन २१ गते हुने मतदानमा सहभागी हुन बन्चित हुने अवस्था थियो ।
तर, अब त्यस्ता मतदाताले आफ्नो नाम मतदाता नामावलीमा प्रविष्ट गर्न सक्ने भएका छन् ।



























































