काठमाडौँ – नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित कार्यसम्पादन समिति सदस्यहरुको बैठकले निर्वाचनमा जाने कुरालाई सकारात्मक रुपमा लिए पनि सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नदिखिएको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले जनतामा जाने कुरालाई नकार्न नसक्ने भन्दै सरकार निर्वाचनको राम्रो वातावरण बनाउन गम्भीर नदेखिएको बताए । उनले जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि आयोगले निष्पक्ष काम गर्नुपर्नेमा कांग्रेसका सवै नेताहरुको जोड रहेको उल्लेख गरे ।

महतले बैठकमा पार्टी महाधिवेशनको विषयमा बिभिन्न कोणबाट छलफल भइरहेको भन्दै केन्द्रीय समितिको बैठकमा सहमतिका साथ महाधिवेशनको एजेण्डा प्रस्तुत हुने बताए । आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी सभापति देउवा उपस्थित हुने उनले जानकारी दिए ।

प्रवक्ता महतले हालैको बाढी पहिरोका कारण घरबार बिहिन भएका नागरिकलाई प्रभावकारी ढंगले राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको र हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै पनि अज्ञात रहेकाले यस बारे आवश्यक कुटनीतिक पहल गर्न समेत माग गरेको बताए ।