काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनको फराकिलो हार व्यहोरेको छ ।


ADVERTISEMENT


युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६३ रन बनायो । विशाल चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । त्यसक्रममा उनले ६० बलमा ३ चौका हाने । यस्तै आशिफ शेखले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन जोड्दा भीम सार्की २९, आरिफ शेख २० र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपाली ब्याटरलाई घुँडा टेकाउन हरमित सिंहले शानदार बलिङ गरे । करियरकै उत्कृष्ट बलिङ गरेका उनले ८.१ ओभरमा १ मेडेन राख्नै २७ रन मात्रै खर्चिएर महत्वपूर्ण ६ विकेट लिए । यस्तै शुभम रनजीले २ तथा रुसिल उगाकारले १ विकेट हात पारे ।

यसअघि अमेरिकालाई उच्च स्कोरतर्फ डोर्याउने क्रममा स्मित पटेल, मिलिन्ड कुमार र साइतेजा मुकामुल्लाले उत्कृष्ट ब्याटिङ गरे ।

पटेल र मुकामुल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि अमेरिकाले चुनौतीपूर्ण स्कोर अडा गरेको हो । त्यसक्रममा पटेलले १०० बलमा ९ चौकाको मदतमा ७५ रन बनाए भने मुकामुल्ला ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन बनाउँदा आउट भए ।

यस्तै आक्रामक ब्याटिङ गरेका कुमारले ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नटआउट ७० रन बनाए । शुभम रनजानेले १९ तथा शायन जहांगिर र एन्ड्रस गौसले समान ११–११ रन बनाए । यस्तै हरमित सिंहले ६ बलमा २ छक्का ठोक्दै नटआउट १६ रनको योगदानदिए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

लिग-२ मा नेपालको अवस्था

८ राष्ट्र सहभागी लिग–२ मा नेपाल १७ खेलमा ५ जित, १० हार र २ अनिर्णितसहित १२ अंकका साथ सातौँ स्थानमा रहेको छ । यता अमेरिका भने २१ खेलमा १५ जित र ४ हारसहित ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

आगामी वर्ष हुने विश्वकप छनोटमा पुग्न र एकदिवसीय मान्यता जोगाउन नेपाललाई युएई सिरिज महत्वपूर्ण रहेको छ । जहाँ नेपालले अमेरिका र युएईसँग २–२ खेल खेल्नेछ ।

यस्तै स्कटल्याण्ड २४ खेलमा १३ जित र ७ हार तथा ४ अनिर्णितसहित अमेरिकासँग समान ३० अंक भए पनि रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । भने युएई १६ खेलमा ३ जित र १३ हारसहित ६ अंकका साथ पुछारमा रहेको छ । नेदरल्याण्ड्स, ओमान, क्यानडा, नामिबिया र ओमान तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

सन् २०२६को अन्त्यसम्म चल्ने लिग–२ का उत्कृष्ट ४ टोली सन् २०२७ मा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । यस्तै पुछारका चार टोली विश्वकप छनोटमा पुग्न पुनः विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।