काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेनजी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताए ।
आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उहाको भनाइ छ । महासचिव पोखरेलले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भएपनि राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे ।
उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान विपरित भएको टिप्पणी गरे ।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने बताए ।
जेनजी आन्दोलनको छानविनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए । गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ ।


























































