काठमाडौँ – निरन्तर कर्ममा लागिरह्यो भने कयौँ कठिनाईकाबीच पनि सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रमेश दाहाल । साना रेस्टुरेन्टदेखि सुरु भएको उनको यात्रा आज त्रिभुवन अन्तर्राष्ट्रिय एयरर्पाटमा हजारौँ यात्रु र अतिथीलाई सेवा दिने सानदार होटेलहरुसम्म आइपुगेको छ ।
सकारात्मक सोचका साथ निरन्तर कर्म गर्न रुचाउने दाहालले आज राजधानीमा अतिथी सत्कारमा सफलताको उचाईं नापिरहेका छन् । करिब तीन दशकअघि बेलायती नामबाट प्रभावित भएर सुरु गरेको उनको डायना रेस्टुरेन्ट अहिले एयरपोर्ट डायनामा परिणत भएको छ । आफ्नो व्यवसायिक इतिहासलाई सम्मान गर्दै उनले सुरुवाती व्यवसायको नामलाई नै आज ब्राण्ड बनाएका छन् । रमेशले भने, ‘इतिहासलाई बिर्सनु हुदैन । मैँले जे नामबाट काठमाडौँमा व्यवसाय सुरु गरे अहिले आएर पनि त्यसै नामलाई निरन्तरता दिने प्रयास गरेको छु ।’
एयरपोर्ट डायना नेपाली संस्कृति, खानपान र आरम गर्ने गन्तव्य बनेको छ । त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिने र भित्रिने यात्रुहरु तथा पशुपति दर्शन गर्न आउनेहरुको भिडले एयरपोर्ट डायना सधै भरिभराउ हुन्छ ।
यस्तै एयरपोर्ट क्षेत्रमै उनका तीन वटा होटेल छन् । व्यस्थित, सफा चिटिक्क, सबै सुविधा सम्पन्न यी होटेलमा पाइने विशिष्ट सेवाले गर्दा स्वदेशी तथा विदेशी पाहुनाहरुको आकर्षण बढ्दै गइरहेको छ ।
रमेशले २०५६ सालदेखिनै काठमाडौँमा संघर्ष थालेका थिए । रेस्टुरेन्ट व्यवसायबाट सुरु गरेको यात्रा फास्टफुड हुँदै अहिले सुविधासम्पन्न होटेलसम्म आइपुग्दा उनले थुप्रै आरोह, अवरोह झेलेका छन् । यसक्रममा थप्रै कमाए र गुमाए । तर, निरन्तरको मेहनत, अनवरत परिश्रम र हार नमान्ने अठोटले उनी आफ्नो यात्रामा आज सफल उदाहरण बन्न सफल भएका छन् ।
पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि होटेल व्यवसाय पनि महत्वपूर्ण पाटो भएकाले देशको अर्थतन्त्रमा योगदान पुर्याउने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वाद र सत्कार पुर्याउनका लागि लाग्ने उनको अबको लक्ष्य छ । त्यसका लागि सरकारले समेत व्यवसायको साथ दिनुपर्ने उनले बताए । तर, सरकारले अथाह सम्भावना बोकेको नेपालको सुन्दरलाई विश्वमा पुर्याउन नसकेको गुनासो गरे ।
उनले भने, ‘नेपालको सुन्दरता र प्रकृतीलाई हामीले बिश्वमा चिनाउने कामै गरेका छैनौ । धार्मिक पर्यटन, साहसिक खेल पर्यटनजस्ता कयौँ विषयहरु गौण छन, राज्यले त्यसतर्फ ध्यान दियो भने सबै नेपालीले आ–आफनो व्यवशायमा फट्को मार्न सक्ने थिए ।’ यस्तै होटेल व्यवसायीलाई लगानीको सुरक्षाको प्रत्याभूति समेत सरकारले दिनुपर्ने उनले माग गरे ।
आन्दोलनका नाममा विभिन्न समयमा हुने आक्रमण, तोडफोड र आगजनीको निशाना होटेल बन्ने गरेको बताउँदै उनले त्यसले नेपालमा होटेलमा विदेशी मात्रै होइन, स्वदेशी लगानीकर्ताको आकर्षण समेत घट्दै जान थालेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘होटल व्यवसाय पनि पर्यटनसँंग सिधै जोडिएको विषय भएकोले यसलाई राज्यले प्राथमिकताको विषयमा राख्नु पर्थ्यो । तर पायो भने विभिन्न बहानामा तर्साउने काम हुन्छ।’
सरकारले लगानीकर्ताको सुरक्षाको सुनिश्चितता गर्दै पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गरे पर्यटन क्षेत्रबाट नेपालको आर्थिक उन्नति गर्न सकिने उनले विश्वास व्यक्त गरे । त्यसका लागि निरन्तर लागीरहने उनको अठोट समेत छ ।



























































