– राधिका श्रेष्ठ
भारतको असम राज्यको गुवाहाटीस्थित नीलाचल पर्वतमा रहेको कामाख्या देवी मन्दिर हिन्दू शक्तिपीठहरूमध्ये सबैभन्दा रहस्यमयी र प्राचीन मानिन्छ।
पुराण अनुसार, भगवान शिवकी पत्नी सतीले आफ्ना पिताको यज्ञमा अपमान सहन नसकी आत्मदाह गरेपछि, क्रोधित शिवले उनको मृत शरीर काँधमा बोकेर तीनै लोक घुम्नुभयो। भगवान विष्णुले सृष्टिको सन्तुलनका लागि सुदर्शन चक्र चलाएर सतीको शरीर ५१ टुक्रा पारिदिए। ती टुक्रा पृथ्वीका विभिन्न स्थानमा खसे- ती सबै शक्तिपीठ बने।
कामाख्या शक्तिपीठमा सतीको योनिभाग खसेको भनिन्छ, त्यसैले यहाँको देवीलाई सृष्टिशक्तिको आदि रूप- कामाख्या माताको रूपमा पूजिन्छ।
यहाँ हरेक वर्ष अम्बुबाची मेला मनाइन्छ। विश्वास अनुसार, यो बेला देवीलाई महिनावारी हुन्छ, र चार दिन मन्दिरका ढोका बन्द राखिन्छ। देवीको रजस्वला अवधि सम्मानको प्रतीक हो, जसलाई सृष्टिको पुनर्जागरणको रूपमा लिइन्छ। देवीले विश्राम गर्ने ती चार दिनपछि मन्दिर पुनः खुल्दा हजारौं भक्तजन देवीको दर्शनका लागि पुग्छन्। प्राचीन संस्कृत ग्रन्थहरूमा पनि कामाख्या शक्तिपीठलाई “योनि तन्त्रको स्रोत” र “सृष्टिको द्वार” भनेर उल्लेख गरिएको छ।
विज्ञान र चिकित्सकहरूको दृष्टि – महिनावारी
“महिनावारी कुनै रोग होइन, यो स्वस्थ महिलाको स्वाभाविक जैविक प्रक्रिया हो। महिनावारीमा शरीरले अनावश्यक रक्तपदार्थ बाहिर निकाल्छ। यसलाई अशुद्ध भन्नु अज्ञानता हो। बरु महिनावारीको समयमा महिलालाई पोषण, आराम र भावनात्मक समर्थन चाहिन्छ, निषेध होइन।
“छाउगोठमा बस्दा महिलाहरूले धुलो, चिसो र अस्वच्छ वातावरणमा बस्नुपर्ने हुन्छ। जसले संक्रमण, निमोनिया र कहिलेकाहीँ ज्यान जानेसम्मका समस्या ल्याउँछ। यो परम्परा स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक छ।”
समाजको तिक्तता – देवीको पूजा, तर नारीको बेइज्जत
अचम्मको कुरा, कामाख्या मातालाई रजस्वला भएको बेला पूजा गर्न मानिसहरू लाखौंको संख्यामा पुग्छन्, तर जब आफ्नी छोरी वा बुहारीलाई महिनावारी हुन्छ, उनीहरूलाई छुन नहुने, भान्सा पस्न नहुने, मन्दिर जान नहुने भन्छन्। धार्मिक श्रद्धा र सामाजिक व्यवहारबीच यति ठूलो विरोधाभास संसारका केही समाजमा मात्रै पाइन्छ। नेपालका पश्चिमी जिल्लाहरू-अछाम, बाजुरा, कर्णालीका गाउँहरूमा अझै पनि छाउगोठ प्रथा जस्तै अमानवीय चलन जिउँदो छ।
महिनावारी भएकी महिलालाई गोठमा बस्न बाध्य गराइन्छ, जसले न त पर्याप्त तातो स्थान पाउँछिन्, न त सुरक्षा। कतिपय घटनामा सर्पदंश, दमघुटाइ र ठण्डीका कारण महिलाहरूले ज्यान गुमाएका छन्। कानूनी रूपमा यो अपराध हो-नेपाल सरकारले २०७४ सालमा छाउगोठ प्रथा निषेध गरेको छ। तर, व्यवहारमा अझै चेतना पुगेको छैन।
एक नारीको पीडा – सुदूरपश्चिमकी एक २२ वर्षीया युवती भन्छिन् – “महिनावारी हुँदा म छाउगोठमा बस्छु। राति जाडो लाग्छ, डर लाग्छ। एकछिन त लाग्छ, म अपराधी हुँ कि के हो। घरमा बुबा र दाजुले मसँग बोल्दैनन्। तर मन्दिरमा देवीलाई रगतको पूजा गर्छन्। त्यो बेला सोचिन्छ — के देवी पनि अशुद्ध हुन्रु”उनको यो गुनासो हजारौं महिलाको आवाज हो। आज पनि शिक्षित समाजमा पनि महिनावारीको कुरा खुला रूपमा गर्न लाज मानिन्छ। विद्यालयका किशोरीहरू महिनावारी हुँदा लाज र डरले क्लास छुटाउँछन्। यो सामाजिक मानसिकता हो, जुन बदलिन जरुरी छ।
धार्मिक र वैज्ञानिक चेतनाको मिलन देवी कामाख्याको दर्शनले हामीलाई एउटा गहिरो सन्देश दिन्छ- महिनावारी कुनै अशुद्धता होइन, सृष्टिको आरम्भ हो। धर्मले पनि महिलाको रजस्वलालाई पूजा गर्छ, विज्ञानले पनि त्यसलाई स्वाभाविक प्रक्रिया भन्छ।
त्यसैले अब धर्म र विज्ञान दुबैको सन्देशलाई व्यवहारमा उतार्ने समय आएको छ। महिलालाई महिनावारीमा छुट्याउने होइन, सम्मान गर्ने। छाउगोठमा थुनिने होइन, घरभित्रै माया र समर्थन पाउने अवस्था बनाउने। रजस्वला हुनु पाप होइन — यो मातृत्वको पहिलो ढोका हो।
चेतनाको दिव्य रूप
हामी देवीको पूजा गर्छौं, तर आफ्नो घरकी नारीलाई बेइज्जत गर्छौं भने त्यो पूजा अधुरो हुन्छ। कामाख्या माताको कथा केवल धर्मको प्रतीक होइन – त्यो सृष्टिको, मातृत्वको र नारीशक्तिको प्रतीक हो।
“महिनावारी पवित्र छ,” त्यो दिन कामाख्या माताको सन्देश साँचो अर्थमा जीवित हुनेछ।



























































