काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाए । ४१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ३० बलमा समान २–२ चौका र छक्का प्रहार गरे । यस्तै निरोशन डिक्वेल्लाले २९ र रुबेन ट्रम्पलमेनले १ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
११.१ ओभरमा ७१ रन बनाउँदा १ विकेट मात्रै गुमाएको लुम्बिनीको मध्यक्रमका ब्याटर नचल्दा मध्यम स्कोरमै समेटिएको हो । बलिङतर्फ विराटनगरका प्रतिश जिशी र सुवास भण्डारीले समान ३–३ विकट लिए ।
विराटनगरले जवाफी ब्याटिङ गर्दैछ ।
लुम्बिनीले हिजो भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर्स–२ मा पुगेको हो । यता पािलहे क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग हार्दै फाइनल पुग्ने मौका गुमाएको विराटनगर फाइनल पुग्न पुनः एउटा मौका पाएको हो ।
आज जित्ने टोली उपाधिका लागि फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध भिड्नेछ । एनपीएलको फाइनल शनिबार हुनेछ ।



























































