काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सानो–सानो बचत र आवश्यक ऋणमार्फत परिवारको जीविकोपार्जन चलाउनु नै सहकारीको मूल मर्म र धर्म भएको बताए ।
हेटौंडा–८, कमानेमा रहेको सर्वोत्तम बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको ६५ प्रकारका उत्पादनको बृहत् उत्पादन प्रदर्शनी तथा बिक्री मेलाको निरीक्षण तथा १९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सहकारीले नागरिकलाई कर्म गर्न सिकाउने र गरिखाने संस्कार विकास गर्ने उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सहकारी क्षेत्रमा विकृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै केही व्यक्तिले जनताको भरोसामा संकलित रकम जथाभावी प्रयोग गर्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गरे। बुढेसकालका लागि सुरक्षित गरेको बचतसमेत जोखिममा परेको अवस्था देखिएको भन्दै यसले सहकारीप्रति जनविश्वास कमजोर बनाएको उनले बताए।
मुख्यमन्त्री बानियाँले सर्वोत्तम बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार विकास र जनताको सेवाका लागि रहेको उल्लेख गरे। उनले प्रदेश सरकारले निःशुल्क शिक्षा, स्वास्थ्य सेवा, यातायात पूर्वाधार, सीप तथा तालिम र नयाँ प्रविधि हस्तान्तरणमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको स्पष्ट पारे।
सहकारी क्षेत्रलाई उत्पादन र आत्मनिर्भरता सँग जोड्दै अघि बढाइने उल्लेख गर्दै उनले बिचौलियाको अन्त्य गर्न नयाँ नीति र कडाइका साथ कार्यान्वयन गरिने बताए। अब ठूला र साना सबैलाई समान रूपमा कानुन लागू हुने र जनप्रतिनिधिले जिम्मेवार भएर जनताको सेवामा लाग्नुपर्ने उनको जोड थियो।
मुख्यमन्त्री बानियाँले सहकारीमा आबद्ध पदाधिकारी तथा सदस्यहरूलाई पारदर्शी, जिम्मेवार र इमानदार भएर काम गर्न आग्रह गरे।





























































