काठमाडौँ – नेकपा एमालेका नेताहरुले महाधिवशेनपछि पार्टी अझै एकढिक्का र बलियो हुने बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको ११ महाधिवेशनमा सहभागी हुने क्रममा उनीहरुले नेतृत्व चयनमा सर्वसम्मत वा निर्वाचन जुनसुकै विधिबाट चयन गरिएपछि महाधिवशेनपनि पार्टी अझै एकढिक्का र बलियो हुने बताएका हुन् । साथै उनीहरुले विधान महाधिवेशनपछि पार्टीको केन्द्रीय महाधिवेशनले विधान संशोधन गर्नुलाई अन्यथा मान्न नहुने समेत बताएका छन् ।
एमाले नेता अग्नि खरेलले महाधिवेशनमा युवा प्रतिनिधित्वको विशेष ख्याल गरिएको बताए । पार्टीको नेतृत्व सहमतिमा नभए लोकतान्त्रीक विधिद्वारा चयन हुने भन्दै उनले पार्टीभित्र स्वस्थ प्रतिष्पर्धा हुने बताए ।
त्यस्तै एमाले नेता गोकुल बास्कोटाले पार्टीलाई मिलाएर लैजान पदाधिकारी र केन्द्रीय कमिटीको संख्या हेरफेर गरिएको बताए । उनले पार्टीमा निर्वाचन हुँदा कसैले अन्यथा मान्न नहुने भन्दै पराजित हुँदैमा पार्टी नै छाड्नुपर्ने अवस्था नआउने जिकिर गरे ।
त्यस्तै एमाले नेता पार्वत गुरुङले नेतृत्व चयनमा जस्तोसुकै प्रक्रिया अपनाएपनि महाधिवेशनपछि पार्टी झन एकढिक्का हुने बताए ।
त्यस्तै एमाले नेतृ सुनिता बरालले सर्वसम्मतको सम्भावना रहेको भन्दै त्यसो हुन नसके उचित बिधिबाट नेतृत्व चयन हुने बताइन् । उनले पार्टीलाई बलियो बनाउदै लैजानुपर्नेमा सवै नेताहरुको एकमत रहेको धारणा राखिन् ।
मंसिर २९ गतेसम्म चल्ने एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दावी गरेका छन् ।



























































