काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच सहमति नजिक पुगेका छन् ।
उनीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निर्वाचन लड्ने गरी सहमति गर्न लागेका हुन् । यसबारे एक तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् ।
उनले रवि र कुलमानसँगको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’ जुन उनको केही वर्ष अघि सार्वजनिक भएको गीतको अंश समेत हो ।
रवि, बालेन र कुलमानबीच सहमतिका लागि आज दिनभर काठमाडौँको कमल पोखरीस्थित असिम शाहको घरमा छलफल भएको थियो ।
लामो छलफलपछि उनीबीच सहमति जुटेको हो । जसअनुसार कुलमानले रास्वपाको उपसभापति पद पाउने छन् भने सामानुपातिक उम्मेदवारको सूचीमा उनको पार्टीलाई १७ सिट दिइनेछ ।
रास्वपा र बालेनबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने सहमति यसअघि नै भइसकेको छ ।


























































