काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी आवश्यक संशोधन गरेर अझै क्रियाशिल र गतिशिल बनाइने बताएका छन् ।
सोमबार विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट र अन्तक्र्रिया कार्यक्रममा सभापति थापाले वर्तमान संविधान सहमतिको दस्तावेज भएकोले यसको संरक्षण आवश्यक भएको बताएका हुन् ।
उनले संविधान संसोधन गर्नैपर्ने अवस्था आएकाले फागुन २१ गतेको निर्वाचन पछि यसका लागि कांग्रेसले पहल लिने जानकारी दिए । उनले भ्रष्टाचारमुक्त शासन अहिलेको एजेण्डा भएकाले यसको नेतृत्व लिने गरी आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले जेन्जी आन्दोलनमा उठेको भ्रष्टाचारमुक्त मुलुक र सुशासनका लागि अख्तियार, अदालत जस्ता संवैधानिक निकायहरुमा पनि व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले युवा, मजदुर, किसान, व्यवसायी लगायत सवै वर्ग समूदायका लागि कांग्रेसले आवाज उठाउने बताए ।
त्यस्तै कांग्रेस नेता विजय गच्छदारले पार्टीभित्र अव कुनै विवाद नरहेको भन्दै एकढिक्का भएर अघि बढेको उल्लेख गरे । त्यसैगरी अन्य कांग्रेस नेताहरुले पनि कांग्रेस एक भएर अघि बढेकोले कार्यकर्ताहरुले तल माथि नहेरी पार्टीनिर्देशन अनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए ।



























































