काठमाडौं–शक्तिशाली ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाएपछि नेताहरुले साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकता प्रक्रियामा आउन आहृवान गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले त एकता घोषणासभाबाटै ‘के साना पसल थापेर बस्नुहुन्छ, आउनुस्’ भनेर आग्रह गरे । तर, साना कम्युनिष्ट घटकहरुले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । केहीले एमाले र माओवादीले जनतालाई धोका दिएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


नेपाल कम्युनिस्ट पार्टी गठनपछि यस्तो छ नेताहरुको प्रतिक्रियाः–


ADVERTISEMENT

# # #


हामीलाई बेवास्ता गरियो
सीपी मैनाली, महासचिव, नेकपा (माले)

२०७४ असोज १७ गते एमाले–माओवादीले वाम गठबन्धन घोषणा गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । बांगो–टिंगो बाटो हिँडेरै किन नहोस्, आपसी सौदाबाजी गरेर पूर्वसहमति अनुसार एकता गरेका छन् । प्रतिबद्धता अनुसार भएको एकतालाई मैले सकारात्मक रुपमा लिएको छु ।

देशको समृद्धि, सुशासन र विकासलाई अघि बढाउने भन्दै एकीकृत पार्टी नेकपा जन्मेको छ । यो प्रतिबद्धना जनाएअनुसारकै दल बन्छ या फरक ? त्यो भने हेर्न बाँकी छ । यो मार्क्सवादी या बुर्जुवा समाजवादी जस्तो पार्टी बने पनि यो एकताले देशलाई स्थिर सरकार दिएर आर्थिक विकास गरोस् भन्ने हाम्रो कामना छ । यो काम गर्न सक्यो भने एकता फलदायी ठहर्छ ।

वाम ध्रुवीकरण भइरहँदा साथीहरुले तपाईंहरु किन बाहिर ? भनेर प्रश्न उठाइरहनु भएको छ । तर एमाले–माओवादीले शुरुदेखि नै हामीलाई बेवास्ता गर्दै आएका छन् । चुनावका बेला अन्य साना दलहरुसँग एमाले–माओवादीले सहकार्य गरे तर हामीलाई ललकारे । हामीसँग १–२ सिटमा तालमेल गर्न समेत तयार भएनन् ।

योभन्दा पनि महत्त्वपूर्ण कुरा समाजको विश्लेषण, परिवर्तनको चरित्र निर्धारण, पहिचान, समानता, समावेशीकरण, समावेशी प्रतिनिधित्वलगायत मुद्दामा हाम्रा गम्भीर मतभेदहरु छन् । यसर्थ राजनीतिक वैचारिक मतभिन्नता र स्वार्थको राजनीतिले गर्दा उनीहरुसँग हाम्रो औपचारिक सम्बन्ध छैन ।

देशलाई स्थिरता, विकास र समृद्धि दिने घोषणा एकीकृत पार्टीले गरेका छन् । यो पार्टीको पहिलो चुनौती देशलाई समृद्धि दिने नै हुनेछ ।

एकता कोदोमा तोरी मिलाएजस्तो
अशोक राई, वरिष्ठ उपाध्यक्ष, संघीय समाजवादी फोरम

विचार, दृष्टिकोण, सिद्धान्त एउटै भए पनि एमाले–माओवादीले आफूलाई जबरजस्ती अलग पार्टी देखाउँदै आएका थिए । तर हिजोबाट दुई पार्टी एकीकृत भएपछि त्यस्ताखाले बाध्यता हटेको छ । यो राम्रो कुरा हो । म उहाँहरुलाई शुभकामना दिन चाहन्छु ।

यो एकताबाट दुई पार्टीका नेता–कार्यकर्तामा उत्साह ल्याएको होला, तर जनताले खासै केही अपेक्षा गरेका छैनन् । कोदो र तोरी हेर्दा उस्तै–उस्तै हुन्छ, तर मिसाएपछि त्यो निरर्थक हुन्छ । न त्यसबाट तेल आउँछ, न पिठो । एमाले–माओवादी एकता पनि यस्तै बन्ने खतरा छ । यसलाई प्रतिकूल हुनबाट जोगाएर अघि बढ्न नयाँ पार्टीले विशेष ध्यान दिनुपर्छ ।

दुई पार्टीको एकताको घोषणा त भयो तर भावनात्मक र संगठनात्मक एकता हुन बाँकी छ । मलाई एकीकृत पार्टीको सबैभन्दा पेचिलो विषय यही हो जस्तो लाग्छ । यसलाई सही रुपमा व्यवस्थापन गर्न सक्नुमा नै नवगठित पार्टीको भविष्य निर्भर रहनेछ ।

एमाले–माओवादीले एकतापछि अन्य पार्टीहरुलाई पनि यसमा सहभागी हुन अपिल गरेका छन् । तर संघीय समाजवादी फोरम यसमा समेटिने कुनै सम्भावना छैन । हाम्रो बाटो मिल्दैन, मुद्दा मिल्दैन । तथापि, राष्ट्र निर्माणको शिलशिलामा जोसुकैसँग सहकार्य गरेर अघि बढ्न संघीय समाजवादी फोरम तयार छ ।