काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका दिएर निर्वाचनको भोलिपल्ट पार्टीमा फर्कने छुट कसैलाई नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


नेकपा सिन्धुली–काठमाडौं सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार समेत रहेका दाहालले निर्वाचनमा बागी उम्मेदवार उठाएर पार्टीलाई धोका दिने र निर्वाचनको भोलिपल्ट पार्टी फर्कने छुट कसैलाई नभएको बताएका हुन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा आफुले सहमतिका लागि हरिबोल गजुरेललाई पटक पटक आग्रह गर्दा नमानेको तर्क गरे ।


ADVERTISEMENT

# # #


दाहालले पार्टीको तल्लो कमिटीको सिफरिस र पार्टीको निर्देशन र निर्णय अनुसार नै आफुले सिन्धुली–२ मा मनोनयन दर्ता गरेको भन्दै पार्टीले दिएको जिम्मेवारी बहन गर्दा कुनै अपराध नगरेको स्पष्ट पारे । उनले सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल र हरिबोल गजुरेलसंग छलफल र समन्वय गरिरहेको भन्दै कमजोरी सच्याउने अवसर अझै पनि रहेको धारणा राखे ।

त्यस्तै नेता दाहालले यसअघिको सरकारको गलत कामले गर्दा देश खरानी बन्न पुगेको भन्दै तिनै व्यक्तिहरुलाई सरकारमा ल्याएर गल्ति गर्ने काम जनताले नगर्ने जिकिर गरे ।

नेकपाको विचारलाई कार्यान्वयन गर्न, संविधानको व्यवहारिक रुपमा कार्यान्वयन गर्न नेकपाको बहुमत आवश्यक रहेको उनको भनाइ छ ।