काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । बिहीबार इटालीले नेपाललाई १० विकेटले हराएको हो ।
भारतको मुम्बईस्थित वांखेडे क्रिकेट स्टेडियममा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्रै बनायो । १२४ रनको सामान्य चुनौती पच्छ्याएको इटालीले आक्रामक ब्याटिङ गर्दै बिना विकेट क्षति १२.४ ओभरमै १० विकेटको शानदार जित हात पारेको हो ।
इटालीका ब्याटरसामू नेपाली बलर निरीह बने । ओपनरद्वय दाजुभाई जस्टिन मोस्का र एन्थोनी मास्काले नटआउट रहँदै इटालीलाई विश्वकपमा पहिलो ऐतिहासिक जित दिलाए । त्यसक्रममा एन्थोनी मास्काले ३१ बलमा ६ छक्का ३ चौका ठोक्दै नटआउट ६१ रन हाने । यस्तै जस्टिन मोस्काले ४४ बलमा ५ चौका र ३ छक्काको मदतमा नटआउट ६० रन बनाए ।
यसअघि नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । त्यसक्रममा उनले २४ बलमा ३ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले १४ बलमा २ छक्काको मदतमा २६ तथा आशिफ शेखले २० बलमा २ चौकाको मदतमा २० रन बनाए ।
यस्तै करण केसीले नटआउड १८ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालले ११ औँै ओभरपछाडि महत्वपूर्ण ५ विकेट गुमाउँदा ४१ बलमा एउटा पनि बाउन्ड्री लगाउन सकेन । जेले नेपालको स्कोर खुम्चिन पुग्यो ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा इटालीका स्पिनरले शानदार बलिङ गरे । त्यसक्रममा क्रिसन कालुगामागेले ४ ओभरमा १८ रन मात्रै दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै बेन मानेन्तीले ४ ओभरमा २ विकेट लिँदा ९ रन मात्रै खर्चिए ।
अलि हसन र जेजे स्मुट्सले समान १–१ विकेट हात पारे । लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । विश्वकपमा नेपालले तेस्रो खेल आइतबार वेष्टइण्डिजविरुद्ध खेल्नेछ । यसअघि पहिलो खेलमा नेपाल इंग्ल्याण्डविरुद्ध ४ रनले पराजित बनेको थियो ।


























































