काठमाडौं – नवीन श्रीवास्तव ले भारत सरकारको तर्फबाट प्रदान गरिएको निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
काठमाडौंस्थित गृह मन्त्रालय मा आयोजित समारोहमा उक्त सहयोग माननीय गृहमन्त्री ओमप्रकाश अर्याल लाई औपचारिक रूपमा बुझाइएको हो।
तेस्रो खेपअन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारी साधन तथा अन्य आवश्यक सामग्री समावेश छन्। आगामी निर्वाचनको तयारीका लागि नेपालले अनुरोध गरेअनुसार उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ। नेपाली सेनाका लागि प्रदान गरिएका ट्रकहरू अशोक राज सिग्देल ले राजदूत श्रीवास्तवबाट ग्रहण गरेको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गृहमन्त्री अर्यालले समयमै उपलब्ध गराइएको महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद दिए। उनले नेपाल–भारत सम्बन्ध पारस्परिक हित, आपसी विश्वास, मित्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गरे ।
यसअघि माघ ६ र माघ १५ गते पहिलो र दोस्रो खेपअन्तर्गत ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री नेपाललाई हस्तान्तरण गरिसकिएको छ। थप सहयोग आगामी दिनहरूमा विभिन्न चरणमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।
भारतीय पक्षबाट भइरहेको यस्तो सहयोग दुई देशबीचको बहुआयामिक विकास साझेदारीको प्रतिबिम्ब भएको उल्लेख गरिएको छ। यसले नेपाल र भारतका जनताबीचको गहिरो मित्रता र विश्वासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।





























































