हेटौंडा — इन्द्रबहादुर बानियाँ ले हेटौंडा–७ हरियाली टोलस्थित बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन, अध्यापन तथा पुनर्स्थापना सेवा प्रदान गर्दै आएको सि आशा फाउण्डेशन द्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो जीवन असल बनाएर अरूको जीवन पनि असल बनाउन सकिने उल्लेख गर्दै समाजका सबै तह र समुदायले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए।
उनले आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रमा विशेषगरी आवश्यकता भएका बालबालिकाको शिक्षा र पुनर्स्थापनामा पुर्याइरहेको योगदानको प्रशंसा गरे। साथै मुख्यमन्त्री बानियाँले आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रलाई आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमै ४२ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे।
हाल उक्त पाठशालामा ९० जना बालबालिकाले अध्ययन गरिरहेका छन्। तीमध्ये २५ जना होस्टलमा बसेर अध्ययनरत रहेको केन्द्रले जनाएको छ।


























































