काठमाडौं – देशको न्यायपालिकाले दोस्रो पटक महिलाको नेतृत्व पाएको छ ।


ADVERTISEMENT


आजदेखि बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको रुपमा देशकै न्यायपालिकाको नेतृत्व गरेकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भने आजैदेखि अवकाशमा गएका छन् ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले महिला नेतृत्व पाएको यो दोस्रो पटक हो । यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेकी थिइन । सुशीला कार्की प्रधानन्यायाधीश छँदा देशमा धेरै महिलाहरु उच्च पदमा बहाल रहेको इतिहास बनेको थियो । त्यतिबेला देशका कूल ६ सम्माननीय पदमध्ये राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती गरी ३ पदमा महिला थिए ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले योग्यता पुगेका ६ न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । सूचीमा सबैभन्दा अगाडि बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लकै नाम छ ।

संवैधानिक परिषदका ६ सदस्यमध्ये अहिले ३ जना मात्र छन् । परिषदका अध्यक्ष प्रधानमन्त्री र सदस्यहरु राष्ट्रिय सभा अध्यक्ष र कानुनमन्त्री अहिले पदमा छन् । अन्य दुई सदस्यहरु सभामुख र उपसभामुखको निर्वाचन भएको छैन ।

चैत १९ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यससँगै प्रतिनिधि सभाले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ र केही दिनमै सभामुख र उपसभामुख निर्वाचित हुनेछन् ।

सबै पदपूर्ति भइसकेपछि बस्ने संवैधानिक परिषदको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफरिस गर्नेछ । प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका न्यायाधीशको संसदीय सुनुवाइ हुनेछ ।