काठमाडौं- आफ्ना मागप्रति ध्यानाकर्षण गराउन सडकपेटीमा आश्रित दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकहरूले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को बनस्थलीस्थित केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।
रास्वपाका सभापति रवि लामिछानेलाई आफ्ना समस्या र मागबारे जानकारी गराउन पार्टी कार्यालय पुगेका उनीहरूले सभापतिसँग भेट गर्न नपाएपछि नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा केही प्रदर्शनकारी जबर्जस्ती कार्यालयभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा खटिएका प्रहरीले उनीहरूलाई रोकेको थियो।
प्रदर्शनकारीहरूले सुरक्षाकर्मीले आफूहरूलाई सभापतिसँग भेट्न नदिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार आफ्ना माग प्रत्यक्ष रूपमा राख्न खोज्दा पनि भेटघाटको अवसर नदिइएकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको हो।
सडकपेटीलाई जीविकोपार्जनको आधार बनाउँदै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले बलपूर्वक हटाउने तथा धरपकड गर्ने कार्य भइरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले सरकारले दृष्टिविहीन नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्न नसकेको आरोप लगाउँदै सडकमा सानो व्यापार गरेर जीवनयापन गर्ने अधिकारसमेत खोस्न खोजिएको बताएका छन्। आफ्ना मागको शीघ्र सम्बोधन गर्न उनीहरूले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।



























































