काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै चेयरम्यान क्लब तथा सीईओ क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो।
कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले कार्यक्रम उद्घाटन गर्दै अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताको योगदान महत्वपूर्ण रहेको बताएका छन्। उनले सम्मानले अभिकर्ताहरूलाई आगामी दिनमा अझ उत्कृष्ट व्यवसाय गर्न प्रेरणा मिल्ने धारणा व्यक्त गरेका छन्।
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताउँदै अभिकर्ताहरूको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गरे।
कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता वृद्धि गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई चेयरम्यान क्लब र सीईओ क्लब अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा अभिनेता तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति रहेको थियो। खड्काले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै सहभागीहरूलाई प्रेरित गरेका थिए।
कम्पनीले अभिकर्ताहरूको मनोबल बढाउन नियमित रूपमा प्रशिक्षण, सम्मान, मोटिभेसनल तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।





























































