काठमाडौं- आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवाहरू थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याएको छ ।


ADVERTISEMENT


विभागका अनुसार नयाँ पोर्टलको परीक्षण आइतबारदेखि सुरु गरिएको हो । नयाँ प्रणालीको परीक्षण सफल नहुँदासम्म हाल सञ्चालनमा रहेको पुरानै करदाता पोर्टल पनि यथावत् सञ्चालनमा रहने विभागका महानिर्देशक डा. डा. भीष्मकुमार भुसालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


महानिर्देशक भुसालका अनुसार यसअघि अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण आन्तरिक राजस्व कार्यालयबाट रुजु गराउनुपर्ने व्यवस्था थियो । अब भने करदाताले आफैंले विवरण रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, आय विवरणअन्तर्गत यसअघि अनुसूची १० मा करदाताले विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको विभागले जनाएको छ । स्रोतमा कट्टी भएको करको विवरणसमेत मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

करदाताले आफ्नो स्थायी लेखा नम्बर (प्यान) कार्ड, अन्तःशुल्क इजाजत तथा कर चुक्ता प्रमाणपत्र पोर्टलमा ‘लग–इन’ गरी आफैं डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, मूल्य अभिवृद्धि कर (भ्याट) विवरण संशोधनसम्बन्धी सेवासमेत पोर्टलमा समावेश गरिएको छ ।

महानिर्देशक भुसालका अनुसार विदेशी लगानीकर्ताहरूले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्थासमेत गरिएको छ ।

करदाताको सुविधालाई केन्द्रमा राखेर पोर्टलको डिजाइनमा सरलता ल्याउने तथा आवश्यक थप सेवाहरू पहिचान गरी छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता पनि विभागले जनाएको छ ।