काठमाडौं- यामाहा नेपालले आगामी नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिले भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ एक्सएसआर १५५ सार्वजनिक गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT


यामाहाले ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अर्थात् आफ्नो छुट्टै पहिचान बनाउने अवधारणामा केन्द्रित भएर एक्सएसआर १५५ सार्वजनिक गर्न लागेको जनाएको छ । नयाँ मोटरसाइकलले नेपाली राइडरलाई पहिलोपटक यामाहाको रेट्रो–मोडर्न डिजाइनको प्रत्यक्ष अनुभव दिनेछ ।


ADVERTISEMENT

# # #


एक्सएसआर १५५ क्लासिक मोटरसाइकलको विरासत र आधुनिक प्रविधिको संयोजनमा तयार गरिएको कम्पनीले जनाएको छ । मोटरसाइकलमा आकर्षक टियरड्रप आकारको फ्युल ट्याङ्क, रेट्रो शैलीको सिग्नेचर राउन्ड एलईडी हेडलाम्प, फ्ल्याट बेन्च–स्टाइल सिट तथा मिनिमल बडी डिजाइन दिइएको छ ।

१५५ सीसी इन्जिनबाट सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी यात्रादेखि उत्कृष्ट प्रदर्शनसम्म सन्तुलित राइडिङ अनुभव दिने कम्पनीको दाबी छ । क्लासिक डिजाइनसँग आधुनिक सुविधा र प्रविधिको संयोजन गरिएको यो मोटरसाइकल परम्परागत स्ट्रिट बाइकभन्दा फरक पहिचान बनाउन चाहने राइडरलाई लक्षित गरिएको छ ।

एमएडब्ल्यू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नेपाली बजारमा फरक पहिचान बनाउन सफल मोटरसाइकल ल्याउन पाउँदा उत्साहित रहेको बताए । उनले ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव भएको बताए ।

यामाहा नेपालले नाडा अटो शोबाटै एक्सएसआर १५५ को आधिकारिक प्रि–बुकिङ खुला गर्ने जनाएको छ । मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकले एक महिनाअघि नै प्रि–बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सहभागी हुने मोटरसाइकलप्रेमी तथा अवलोकनकर्ताले भदौ ९ देखि १४ गतेसम्म बिहान १०ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म यामाहाको स्टलमा पुगेर एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै, उत्पादन विशेषज्ञसँग अन्तरक्रिया तथा प्रि–बुकिङसमेत गर्न सकिनेछ ।