काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुन आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।


ADVERTISEMENT


मुख्यमन्त्री थापा मगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा विचाराधीन रहेको भन्दै कांग्रेसले अदालतबाट विषयको अन्तिम टुंगो नलागेसम्म प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गरेको हो। अदालतले यस मुद्दामा विपक्षीहरूलाई कारण देखाऊ आदेशसमेत जारी गरिसकेको छ।


ADVERTISEMENT

# # #


कांग्रेसले प्रदेशसभामा विचाराधीन न्यायिक विषयमा छलफल नगर्नुपर्ने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै सभामुखसमक्ष समेत मुद्दाको किनारा नलागेसम्म अन्य प्रक्रिया अघि नबढाउन आग्रह गरेको जनाएको छ।

साथै, कांग्रेस बागमती प्रदेश संसदीय दलले आफ्ना सम्पूर्ण प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरले मागेको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ। यसअघि पनि कांग्रेसले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो।

मुख्यमन्त्री थापा मगरको नियुक्ति र विश्वासको मतलाई लिएर बागमती प्रदेशको राजनीति थप पेचिलो बनेको छ। सत्ता गठबन्धनभित्रै मतभेद देखिएको अवस्थामा कांग्रेसको यस्तो निर्णयले सरकारको भविष्यबारे थप अन्योल सिर्जना गरेको छ।