हेटौँडा- किरण थापा मगरले संसदीय मर्यादा विपरीत बागमती प्रदेश संसद्बाट मुख्यमन्त्रीकाे मत लिएका छन् । एकातिर सरकार गठनको बिषय अदालतमा बिचाराधिन रहेकाे र प्रतिपक्षी पार्टीहरूकाे बहिस्कारका बीच थापाले सरकार टिकाउन ५७ सांसदलाई आफ्नाे पक्षमा देखाए ।
मौजुदा संसद्को १०४ सदस्य मध्ये विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा नेपाली कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद बैठक बहिस्कार गर्दै सहभागी भएका थिएनन । सरकार टिकाउने टेकाे बनेर प्रयाेग भएका बाहेक राप्रपाका ५ सांसद पनि बैठकमा सहभागी भएनन् ।
राप्रपाले कारबाही गरेर सांसद पद नै नरहेकाहरूकाे आडमा बनेकाे सरकार र संसदीय मर्यादा र प्रकृया बिपरित नाटकीय मञ्चनबाट देखाईएकाे बिश्वासकाे धरातल नरहेकाे जानकारहरू बताउँछन् । संबैधानिक कानुनका जानकारहरूका अनुसार थापाले पाएकाे मतकाे बैधानिकताकाे अन्तिम छिनाेफानाे अदालतले गर्नेछ ।






























































