काठमाडौं – भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढी र लेदोसहितको पहिरोका कारण प्रभावित क्षेत्रमा कम्तीमा २२ लाख टन गेग्रान थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रारम्भिक अध्ययनले देखाएको छ।
यूएनडीपीका अनुसार २६ अगस्टमा हिमचट्टान भत्किएपछि आएको आकस्मिक बाढीले पानी, लेदो र ढुंगा बस्तीहरूमा पसेको थियो। नेपाल सरकारले हालसम्म एक हजारभन्दा बढीको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता र १० हजार ४५१ जनाको उद्धार भएको जनाएको छ।
बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य ऊर्जा आयोजना गरी कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको छ। निर्माणाधीन थप १५ वटा विद्युत् आयोजनासमेत क्षतिग्रस्त भएका छन्। ती आयोजनाको प्रस्तावित उत्पादन क्षमता ४७० मेगावाट रहेको छ।
यूएनडीपीका अनुसार बाढीले नेपालका पहिल्यै जोखिममा रहेका समुदायलाई थप प्रभावित बनाएको छ। प्रभावितमध्ये करिब तीनचौथाइ मानिस जीविकोपार्जन, आधारभूत सेवा र जीवनयापनका हिसाबले पहिल्यै कठिन अवस्थामा रहेका क्षेत्रमा बस्दै आएका थिए।
सरकारी तथ्यांकअनुसार ६ जिल्लाका १७ स्थानीय तहमा ८४ हजार २७० जना प्रभावित भएका छन्। प्रभावित अधिकांश स्थानीय तह पहाडी तथा ग्रामीण क्षेत्रमा छन्, जहाँ ६७.४ प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर छन्।
बाढीको समयमा नेपालमा मुख्य मनसुन खेतीको सिजन चलिरहेको भएकाले कृषि क्षेत्रमा भएको क्षतिले खाद्य सुरक्षा र परिवारको आम्दानीमा दीर्घकालीन असर पार्नसक्ने यूएनडीपीले जनाएको छ।
यूएनडीपीकी नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकाले त्रिशूली करिडोरका समुदायमा विपद्ले ठूलो क्षति पुर्याएको बताएकी छन्। उनका अनुसार परिवारहरूले आफन्त, घर र जीविकोपार्जन गुमाएका छन् भने अत्यावश्यक सेवा र आपसी सम्पर्क पुनःस्थापित गर्नसमेत समुदायले कठिनाइ भोगिरहेका छन्।
यूएनडीपीले स्याटेलाइटबाट गरिएको भवन क्षतिको मूल्यांकनसहित विभिन्न तथ्यांक र स्थानीय इन्जिनियरिङ अनुमानका आधारमा गेग्रानको मात्रा तथा फैलावटको प्रारम्भिक मूल्यांकन गरेको हो।
प्रारम्भिक अध्ययनअनुसार २ हजार ३५९ वटा भवनमा भएको क्षतिको आधारमा मात्रै करिब ५ लाख ५६ हजार २०० टन भवनजन्य फोहोर रहेको अनुमान गरिएको छ। थप क्षतिको विवरण प्राप्त हुँदै जाँदा यो मात्रा अझ बढ्नसक्ने यूएनडीपीले जनाएको छ।
बाढीले थुपारेको गेग्रानमा भवनका अवशेष, घरायसी सामग्री, वनस्पति, ढुंगा तथा माटो–बालुवा रहेका छन्। यिनै भग्नावशेष र लेदोमुनि मानिसहरू फसेको वा बेपत्ता रहेको हुनसक्ने भएकाले खोज तथा उद्धार कार्यसमेत कठिन र जोखिमपूर्ण बनेको यूएनडीपीले जनाएको छ।
यूएनडीपीका अनुसार २२ लाख टनभन्दा बढी गेग्रानको अनुमानले विपद्को विनाशको व्यापकता र प्रभावित समुदायले सामना गर्नुपर्ने पुनर्निर्माणको चुनौती स्पष्ट पार्छ। सडक, घर तथा सार्वजनिक संरचना सफा गरेर पुनःनिर्माण गर्न लामो समय लाग्ने देखिएको छ।































































