काठमाडौं – रसुवामा बाढीपछि हाइड्रोपावर आयोजनाका टनेलमा फसेका तथा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको छ।
भदौ १७ गते बिहान ११ बजेसम्मको विवरणअनुसार विभिन्न आयोजनाका टनेलमा नेपाली सेना, विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।
रसुवागढी हाइड्रोपावरको टनेलमा उद्धार टोली करिब १५० मिटरभित्र पुगेको छ। तर ठूला चट्टानका कारण थप अघि बढ्न नसकेपछि आज पुनः खोज तथा उद्धार कार्य जारी राखिएको छ। त्यस्तै लाङटाङ हाइड्रोको टनेलमा विदेशीसमेत सहभागी २५ जनाको संयुक्त टोलीले करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशीसमेतको संयुक्त टोली परिचालन गरिएको छ। अपर त्रिशूली–१, हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–३ए आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाएको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगपछि टनेलको आउटलेट भेटिएको छ। वर्षाका कारण राति जमेको करिब १.५ मिटर पानी पम्पमार्फत बाहिर निकालिएको छ।
त्रिशूली–३बीमा नेपाली सेनाका ६१, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माण भइरहेको छ।
बाढी प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने काम भइरहेको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा समेत खोज तथा उद्धार जारी छ। टिमुरे क्षेत्रमा फेला परेका शवलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसनसमेत सुरु गरिएको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।



































































