काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउँदै आएको भारतले थप राहत सामग्री नेपाल पठाएको छ ।
भारतबाट पठाइएका छैटौँ र सातौँ राहत उडानका सी–१३० जे विमान शुक्रबार राति काठमाडौं आइपुगेका छन् । ती विमानमार्फत २१.५ टन राहत सामग्री नेपाल ल्याइएको हो । राहत सामग्रीमा फरेन्सिक किट तथा स्वास्थ्य सामग्री लगायतका अत्यावश्यक सामग्री रहेको जनाइएको छ । भारतले उक्त सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतबाट प्राप्त सामग्रीले रसुवा बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै बाढीबाट प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य तथा अन्य मानवीय सहायता उपलब्ध गराउन सामग्री उपयोग गरिनेछ ।
भारतले रसुवा बाढीपछि यसअघि पनि विभिन्न चरणमा राहत सामग्रीसहितका सैन्य विमान नेपाल पठाउँदै आएको छ ।


































































