काठमाडौं – श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पुगेर पूजा–अर्चना तथा दर्शन गरेका छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति पौडेलले मन्दिरमा भगवान् श्रीकृष्णको दर्शन गरी पुजारीबाट फूल तथा प्रसाद ग्रहण गरेका हुन् । उनलाई ललितपुर–२ का प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले स्वागत गरिएको थियो ।
राष्ट्रपति पौडेलको मन्दिर दर्शनसँगै पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि देखिएको भक्तजनको चहलपहल अझै बढेको थियो । जन्माष्टमीका अवसरमा देशभरका विभिन्न कृष्ण मन्दिरमा विशेष पूजाआजा भइरहँदा पाटनमा पनि दर्शनार्थीको उल्लेख्य भीड लागेको थियो । भक्तजनहरू भगवान् श्रीकृष्णको दर्शनका लागि लामो लाइनमा बसेका थिए । मन्दिर परिसरमा भजन–कीर्तन तथा कृष्ण नामस्मरण गर्दै भक्तजनले पर्व मनाएका छन् ।
राष्ट्रप्रमुखले जन्माष्टमीका अवसरमा पाटन कृष्ण मन्दिर पुगेर दर्शन गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।































































