काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको हो ।


ADVERTISEMENT

# # #


प्रारम्भिक सम्झौता अनुसार प्रस्तावित प्राप्ती सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण शेयर आदान–प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ । प्रस्तावित प्राप्ती नेपाल राष्ट्र बैंक तथा प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ ।

तीन वटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानूनी एवं नियामकीय व्यवस्था अनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।