काठमाडौं – नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना गरिएको छ ।
असोज ३ गते वडा अधिवेशनबाट प्रारम्भ भएको महाधिवेशनको प्रक्रिया अन्तर्गत बुधबार पालिका तहको अधिवेशन आयोजना गरिएको हो । काङ्ग्रेसको विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुने व्यवस्था रहेको छ । जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान रहेको छ ।
यसैबीच कांग्रेसको काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले वडा, पालीका, प्रदेश सभा क्षेत्रीय अधिवेशन÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले पार्टी एकढिक्का भएको सन्देश दिन जरुरी रहेको बताएको छ । नागरिकसँग प्रत्यक्ष जोडिने प्राथमिक संरचना वडा र पालिका नै भएकाले कांग्रेसको विचार, सन्देश र नीति प्रवाह गर्न यी तहहरू बलियो, गतिशील र संगठित हुनु अनिवार्य रहेको उनले बताए । उनले पुराना परम्परागत राजनीतिक विचार मात्र बोकेर नहुने भन्दै नवीन विचार र नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधिहरू अघि बढाउनुपर्नेमा जोड एि ।
अधिवेशनलाई केवल सभापति, सचिव वा पदाधिकारी चुन्ने प्रक्रियाका रूपमा मात्र सीमित नराखी नीतिगत सुधार र भावी कार्यदिशा तय गर्ने थलो बनाउन उहाले सुझाव दिए । कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।
































































