काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिइएको छ ।
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले बुधबार सिंहदरबारमा आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकार पुरस्कार वितरण समारोहमा मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको हकहितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै पत्रकारिता क्षेत्रलाई पनि मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिएका हुन् ।
उनले श्रमजीवी पत्रकारहरूले आफ्नो न्यूनतम पारिश्रमिक पाउनका लागि सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । पत्रकारितामा जोखिम मोलेर रिपोर्टिङ गर्ने कार्य प्रशंसनीय भए पनि पत्रकारहरूले आफ्नो जीवनलाई नै खतरामा राखेर काम गर्न नहुने र ‘सुरक्षा पहिलो’ को मान्यता अपनाउनुपर्ने उनले बताए । उनले सार्वजनिक प्रसारण संस्थाहरूको सुधारका लागि निर्मम भएर विगतका कमजोरी सच्याउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा यस बर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रामचन्द्र अर्याल, दिवाकर पोखरेल, शिव शिलवाल लगाएत पाँच जना पत्रकारहरुलाई प्रदान गरिएको थियो ।
































































