काठमार्डौ – हालै रसुवामा आएको भीषण बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षति तथा प्रभावित व्यवसायीलाई राहत र सहुलियत उपलब्ध गराउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र भन्सार विभागबीच छलफल भएको छ ।
असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीका कारण अटोमोबाइल व्यवसायमा परेको समस्याबारे विस्तृत छलफल गरेको हो ।
भेटमा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण दसैँको सिजनलाई लक्षित गरी चीनबाट आयात गरिएका सयौँ सवारीसाधनमध्ये ठूलो संख्यामा रसुवा नाकाबाट बाढीले बगाएको जानकारी गराए । उनले बाढीबाट प्रभावित पैठारीकर्ताले सरकारबाट पाउनुपर्ने राहत तथा सहुलियतको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरे ।
त्यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण सीमावर्ती क्षेत्रमा पाँच सयभन्दा बढी सवारीसाधन रोकिएको जानकारी गराउँदै त्यसको सहजीकरणका लागि भन्सार विभागसँग आग्रह गरे । उनले लामो समयदेखि ११ सिटे विद्युतीय माइक्रोबसको भन्सार छुटसम्बन्धी विषय पनि टुंगो नलागेको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरे ।
छलफलका क्रममा भन्सार विभागका महानिर्देशक भुसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतका विषयमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार प्रभावित व्यवसायीलाई राहत तथा सहुलियत दिने मोडालिटीका विषयमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइरहेको छ ।
भेटघाटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको समेत उपस्थिति रहेको थियो ।
































































