रूपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा सुनजडित गरगहना बरामद गरेको छ।
भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेलको साथबाट प्रहरीले २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ मूल्य बराबरका गरगहना बरामद गरेको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले पटेललाई जाँच गर्ने क्रममा गरगहना फेला पारेको जनाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइनका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाला, ब्रासलेटलगायतका गरगहना बरामद भएका छन्। बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको छ। सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा परीक्षण गराउँदा त्यसमा करिब एक किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ। प्रचलित बजार मूल्यका आधारमा सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरगहना र पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले घटनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
















