काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै मुद्दा नपाएपछि सरकारको विरोध गर्न मार्सी धानको भात खाएको विषय उछालेको बताएका छन् ।
पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै उनले भने, “म र दाहाल सँगै प्रसाईंकोमा गएका थियौँ । आग्रह गरेपछि भात खाइयो, फेरि मुखमै राख्न नहुने त होइन ।”
उनले भारतबाट ल्याएको बासमती चामलको भात खानेले मार्सी चामलको विरोध गरेको भन्दै प्रतीकात्मक कटाक्ष गरे ।
उनले जूनको उपमा दिँदै आफूलाई जूनलाईजस्तो टाढाबाट होइन, नजिकबाट हेर्न र धब्बा देखिए विरोध गर्न भने । उनले आचरणमा, व्यवहारमा धब्बा देखिने कुनै काम नगर्ने बताउँदै निष्ठाका लागि दिनदिनै शपथ ग्रहण गरिरहेको समेत बताए ।
प्रतिपक्षीले सत्ताविमुख भएपछि छिर्के हानेर, जर्सी च्यातेर गोल गर्न खोजेको भन्दै उनले कटाक्ष गरे । उनले तीन वर्षभित्रै तीव्र आर्थिक विकास भएको मुलुकमा देशलाई रूपान्तरण गर्ने बताउँदै कानमा तेल हालेर बस्न जनताले बहुमत नदिएको प्रष्ट पारे । “हामी विकास–योजनाको प्रोफाइल तयार पार्दैछौँ । त्यसैले अहिले नै परिणाम नदेखिएको हो,” उनको प्रष्टोक्ति थियो ।
प्रतिपक्षी पार्टीको साइन बोर्डबाहेक केही बाँकी नरहने, कार्यकर्तासमेत नरहने भएपछि आत्तिएर कोकोहोलो मच्चाइरहेको उनको आरोप थियो ।