काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।
चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्ने बताए । सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले उल्लेख गरे ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधि–मैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए । उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड र सवारी दुर्घटना जस्ता विकृति–विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।
यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालनलाई व्यापक बनाइएको उनले बताए ।
















