काठमाडौं – फ्लाई दुबईको उडानका क्रममा सह–पाइलटको आक्रमणमा घाइते भएका क्याप्टेन स्मित मछारले विमानभित्रको घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् ।

शुक्रबार अस्पतालबाट भिडियो कलमार्फत मोदीसँग कुराकानी गर्दै क्याप्टेन मछारले आफू घाइते अवस्थामा पनि विमानलाई दुर्घटनाबाट जोगाउन तत्काल कदम चाल्नुपरेको बताएका हुन् ।

उनका अनुसार आक्रमणपछि आफू भुइँमा खसेका थिए । त्यही बेला विमान तीव्र गतिमा तलतर्फ गइरहेकाले तत्काल केही गर्नुपर्ने महसुस भएको उनले बताए । घाइते अवस्थामै ककपिटको ढोका खोल्न सफल भएपछि अन्य व्यक्तिहरू ककपिटभित्र प्रवेश गरेर अवस्था नियन्त्रणमा लिन सफल भएका थिए ।

घटनाका क्रममा आफूले ‘हनुमान चालिसा’ जपिरहेको पनि उनले प्रधानमन्त्री मोदीलाई बताएका छन् । मोदीले क्याप्टेन मछारले देखाएको साहस र सुझबुझको प्रशंसा गर्दै यात्रुको ज्यान जोगाउन उनले गरेको प्रयास महत्वपूर्ण रहेको बताएका छन् ।

क्याप्टेन मछार हाल संयुक्त अरब इमिरेट्सको एक अस्पतालमा उपचाररत छन् । उनी फ्लाई दुबईमा क्याप्टेनका रूपमा कार्यरत छन् । गत बुधबार दुबईबाट तेल अभिभतर्फ उडेको विमानमा १७४ जना यात्रु सवार थिए । उडानका क्रममा सह–पाइलटले क्याप्टेनमाथि धारिलो हतियारले आक्रमण गर्दै विमान दुर्घटना गराउने प्रयास गरेको दाबी गरिएको छ ।

आक्रमणपछि क्याप्टेनले ककपिटको ढोका खोलेका थिए । त्यसपछि यात्रु तथा चालक दलका सदस्यहरूले सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए । फ्लाई दुबईकै ड्युटीमा नरहेका एक चालक दल सदस्यले त्यसपछि विमानको उडान सम्हालेका थिए र विमानलाई साउदी अरेबियामा आपत्कालीन अवतरण गराइएको बताइएको छ ।

घटनापछि क्याप्टेन मछारले देखाएको साहसको प्रशंसा भइरहेको छ ।