काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले देशमा फेरि कांग्रेसको युग सुरु भएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति बानियाँले देश बदलन कांग्रेस सकल्पका साथ अगाडी बढेको बताएका छन् । कार्यक्रममा सभापति बानियाँले भने, ‘पार्टीलाई नेतृत्व गर्दै हामीले नेपाललाई बदल्ने संकल्प गर्नुपर्छ, तर त्यसका लागि पहिले कांग्रेसलाई बदल्न जरुरी छ।

२००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेको नेपाली कांग्रेस कुनै पनि बाह्य दबाब र प्रभावमा नपरी आफ्नो सिद्धान्तमा अडिग रहेको बानियाँले बताए । उनले भने, ‘हामी जात वा धर्मका आधारमा होइन, मानवता र लोकतन्त्रको नातामा राजनीति गर्दै आएका छौँ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हाम्रो मार्गनिर्देशक सिद्धान्त हो।’

पार्टीको संरचनागत व्यवस्थापनबारे बोल्दै बानियाँले कांग्रेसमा बुबा पुस्ता, दाइ पुस्ता र भाइ पुस्ताको मिलन अपरिहार्य रहेको औँल्याए । परम्परा र संस्कृतिको जगेर्ना गर्दै अनुभव र नयाँ पुस्ताको ऊर्जालाई सँगसँगै लैजान सके मात्र कांग्रेसले देशको नेतृत्व गर्न सक्ने उनको भनाइ थियो।

बानियाँले मुलुकको लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको रक्षाका लागि कांग्रेसको भूमिका सधैँ अग्रपङ्क्तिमा रहेको स्मरण गरे । ‘नेपालको राजनीतिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे हामी प्रस्ट छौँ। सभापति बानियाँले भने, संविधान र लोकतन्त्रको रक्षाका खातिर कांग्रेस हिजो पनि अगाडि बढेको थियो, आज पनि बढिरहेको छ र भोलि पनि मुलुकको नेतृत्वदायी भूमिकामा रहनेछ,’ ।