काठमाडौँ – सिंगापुरमा आयोजना हुने टी २० विश्वकपको एशिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी टिम घोषणा गरिएको हो । पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार सम्मेलन गरिएको हो ।
पारस खड्काको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिएको हो । सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा छानिनका लागि एशिया क्षेत्र छनोट हुँदैछ । सार्वजनिक टोलीमा शरद भेष्वाकरले पुनरागमन गरेका छन् भने यसअघि युएईमा गत जनवरीमा भएको पहिलो पटक राष्ट्रिय टिममा परेका भीम सार्की र सन्दीप जोरा टिमबाट बाहिरिएका छन् ।
नेपाली टिममा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी
रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन् ।
यस्तै वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जितेन्द्र मुखिया रहेका छन् ।
एशिया छनोट आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुँदैछ । जसमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत गरी ५ टिम रहेका छन् ।
एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो । उसले स्वतः ग्लोबल छनोटमा स्थान बनाएको छ ।