काठमाडौं । लगातार मूल्यवृद्धिले सुस्ताएको सुनचाँदी बजार तिहारमा जागेको छ । तिहारका चार दिनमा मात्रै १० अर्ब हाराहारीमा सुन तथा चाँदीको कारोबार भएको व्यवसायीले बताएका छन् ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रारम्भिक विवरण अनुसार करिब ७ सय किलो सुन र ५ हजार किलो हाराहारी चाँदीको व्यापार ४ दिनमा भएको छ । देशभर रहेका करिब २२ हजार सुन चाँदी पसलहरूबाट यति मात्रामा सुनचाँदी कारोबार भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।


ADVERTISEMENT

# # #


महासंघअन्तर्गत भने १२ हजार दर्तावाला पसलबाट सुनचाँदीको कारोबार भएको बज्राचार्यको भनाइ छ । पछिल्लो कारोबारले करिब ५ महिनादेखि ठप्प व्यवसायमा बहार आएको भन्दै व्यवसायी गदगद बनेका छन् ।

तिहारमा धन तेरसका दिन सबैभन्दा धेरै सुन र चाँदीको कारोबार भएको थियो । त्यस दिन ग्राहकहरूले सिक्री, सुन र चाँदीको सिक्का पैसा, बाला, चाँदीका अम्खराजस्ता सामान धेरै किनेका थिए ।

‘तीज र दशैंमा समेत सुस्ताएको बजार तिहारमा कस्तो होला भन्ने डरै डरमा बसेका थियौं तर राम्रौ भयो,’ महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले भने । तिहारको सार्वजनिक बिदा सुरु भएसँगै गहना किन्न ग्राहकहहरू आउन थालेपछि व्यवसायीहरू उत्साहित भएकोे उनले बताए ।

धनतेरसका दिन सुन र चाँदीका गहना खरिद गरे घरमा लक्ष्मीको बास हुन्छ भन्ने भारतीय संस्कृति पछिल्लो समय नेपालमा फस्टाइरहेको छ । तिहारमा उच्च व्यापार हुँदा सुनको भाउ प्रतितोला ७१ हजार हाराहारी थियो भने चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ थियो ।

महासंघका अनुसार गत वर्ष तिहारमा करिब ११ अर्ब बराबरको सुन चाँदीको व्यापार भएका थियो । उच्च मूल्यका कारण बजार सुस्ताएकाले गत वर्षभन्दा व्यापार थोरै खुम्चिए पनि व्यवसायी खुसी छन् । नेपालमा वर्षभरि ५० अर्बको सुन चाँदीको कारोबार हुन्छ । कुल कारबारको २० प्रतिशत हाराहारी व्यापार तिहारकै छोकोमा हुन्छ ।