घटना १ – २०७६ सालको तिहार संघारमै आइसकेको थियो । काठमाडौं महानगरपालिका–३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय विक्रम गौतमको घरमा जुवातास खेलिरहेको सूचना प्रहरीले प्राप्त गर्‍यो ।


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गौतमको घरमा तास खेलिरहेका गौतमसमेत २५ जनालाई कात्तिक १० गते पक्राउ गर्‍यो । उनीहरुको साथबाट नगद २ करोड ६७ लाख रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बैंक चेक बरामद भयो ।


ADVERTISEMENT

# # #


नेपालीहरुको महान चाड तिहारको समयमा पक्राउ परेका उनीहरुको तिहार प्रहरी हिरासतमै गुज्रियो ।

घटना २ – कास्की, पोखरा महानगरपालिका–६ पहारीमार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छवी पौडेल समेत ९ जनालाई कात्तिक ९ गते प्रहरीले पक्राउ गर्‍यो । उनीहरुबाट नगद १० लाख, ५८ हजार ५ सय १० रुपैयाँ बरामद भयो ।

तिहारको समयमा जुवातास खेलिरहेको अवस्थामा एकै स्थानबाट ठूलो रकमसहित धेरै जना मानिस पक्राउ परेका यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । काठमाडौं उपत्यकाभित्र र बाहिरका यी प्रतिनिधि घटनाले जुवा नियन्त्रणमा देशभरी नै प्रहरी सक्रिय छ र प्रहरीले आफ्ना कारबाही तीव्र पारेको छ भन्ने पुष्टी हुन्छ । यस वर्ष प्रहरीले तिहारको समय कात्तिक ३ देखि १३ गतेसम्मको अवधिमा जुवातासविरुद्धको कारवाहीमा देशभरका विभिन्न ४३ स्थानबाट ३ महिलासहित जम्मा ४ सय ६५ जना पक्राउ गर्‍यो ।

उनीहरुबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भयो । देशका विभिन्न भागमा गैरकानुनी रुपमा जुवातास खेल्ने, खेलाउनेविरुद्ध कडा कारवाही गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा थालिएको विशेष अभियानको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सर्वसाधारणदेखि विभिन्न जिम्मेवार पदमा रहेका व्यक्तिहरुसमेत छन् । विशेष गरी चाडबाडको नाममा पछिल्लो समयमा जुवातास खेल्ने क्रम मौलाएपछि प्रहरीले जुवातास रोक्न विशेष जोड दिएको हो । चाडबाड शुरु भएलगत्तै प्रहरीले शंकास्पद ठाउँको निगरानी राखेकै कारण जुवाडेहरु पक्राउ गर्न सहज भएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको सचेतनामूलक कार्यक्रमको प्रभावले नागरिकबाट सूचना प्राप्त भएकोले पनि यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहज भएको हो ।

जुवातास नियन्त्रणमा प्रहरीको सक्रियता र अनुसन्धानबारे नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी भन्छन्, “प्रहरीको सक्रियता, नागरिक समाज र पीडित परिवारको स्रोतबाट आउने गोप्य सूचनाको आधारमा जुवातास खेल्ने व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत कारवाही मात्रै होइन, उनीहरुबाट बरामद रकमको स्रोततर्फ समेत प्रहरीको ध्यान केन्द्रीत भएको छ । आवश्यक परे सम्पत्ति शुद्धिकरण मार्फत पनि अनुसन्धान हुन्छ ।”

जुवातासका कारण सामाजिक समस्या निम्तिन्छ । यस्तो नहोस् भन्नका खातिर नेपाल प्रहरी वर्षैभरि देशभरिका कुना कन्दरासम्म जुवातासजस्ता विकृति विसंगति नियन्त्रण गर्न लागिपर्दै आएको हो । यस क्रममा गोप्य सूचनाको आधारमा पनि धेरै मानिसहरु पक्राउ पर्ने गरेका छन् । पक्राउ संख्या खासगरी दशैं तिहार जस्ता चाडपर्वको समयमा ह्‍वात्तै बढ्ने गरेको छ । विगत ३ वर्षको अवधिमा जम्मा ७ हजार १ सय ९७ जना पक्राउ परेका छन् । तथ्याङ्क अनुसार आ.व. २०७५/०७६ मा जम्मा ३ सय ९१ मुद्दा दर्ता भएका थिए भने जम्मा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए ।

त्यस्तै आ.व. २०७४/०७५ मा ३ सय ५९ मुद्दा दर्ता भएका थिए भने २ हजार ८ सय २४ जना पक्राउ परेका थिए । यसैगरी आ.व. २०७३/०७४ मा २ सय ६ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार ५ सय ४ जना पक्राउ परेका थिए । जुवातास खेलमा संलग्न व्यक्तिहरुलाई गर्ने कारवाहीमा नेपाल प्रहरीले तीव्रता ल्याएको कारण पछिल्लो समय ठूलो संख्यामा यस्ता व्यक्तिहरु पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको भनाइ छ ।

व्यक्तिका नीजि घरकोठा, होटल, रेष्टुरेण्ट, गेष्टहाउस, रिसोर्टलगायतका स्थानहरुमा मानिसहरु जुवातास खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । कतिपय एकान्तस्थल पनि जुवाडेका लागि उपयुक्त छनौटस्थल भएको मानिन्छ । प्रायस् तास र कुनै स्थानमा कौडा समेत खेल्ने गरेको पाइन्छ ।

विविध व्यवसाय, जागिर लगायत विभिन्न पेशामा संलग्न व्यक्तिहरु जुवा खेलमा संलग्न भेटिन्छन् । एउटै जुवा खालबाट एकै पटक यति ठूलो परिमाणमा रकमसहित
मानिस पक्राउ गर्न सफल महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले भने, “विशेष सूचनाको आधारमा अनुसन्धानमा खटियौं । सुक्ष्म अनुसन्धान र खोजी गर्ने क्रममा उनीहरु पक्राउ परे । उनीहरुमध्ये केही व्यक्तिहरु आपराधिक पृष्ठभूमिबाट आएका र पटके अपराधी समेत भएको खुल्न आएको छ । उनीहरुउपर सम्पत्ति शुद्धिकरण विभागमा पत्राचार समेत गरी थप अनुसन्धान भइरहेको छ ।”

के छ कानुनी व्यवस्था ?

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत जुवा खेल्न र सट्टाबाजी गर्न नहुने उल्लेख छ । जसअनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

जुवाकै कारण पाण्डबहरु १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बस्नु परेको पौराणिक कथामा उल्लेख छ । कथामाझैं जुवातास खेलेर दुर्गति भोग्नेहरुका लागि यो यथार्थ पाठ भएपनि कतिपय व्यक्तिहरु अझै सचेत हुन नसकेको देखिन्छ । जुवा सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ । जुवाको कारण समाजमा आपराधिक घटना बढ्न सक्छन् । मानिसको सामाजिक प्रतिष्ठा गुम्छ । जीवन व्यर्थ र बर्बाद बन्छ । जीवनलाई मूल्यहीन बनाउने यस्तो कुकर्म नगरेकै राम्रो ।