काठमाडौँ – भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी क्षेत्र परेपछि उब्जिएको विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली बोलेका छन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउने प्रतिवद्धता जनाएका छन् । नेपालले आफ्नो एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने भन्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘यो नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘ हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् ।’

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए । ‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’  अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सीमा मिचिएको कुरालाई अहिले नै हो भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको बताए । वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको बताए ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीले दोहोर्याए । उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताए। ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे । लीले सीमा विवादको विषय अन्तर्राष्ट्रिय मञ्चमासमेत सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ भएर लागि परेको उल्लेख गरे।