पर्शुराम बस्नेत : युवा नेता, नेकपा


ADVERTISEMENT


अहिले सीमा विवाद लगायतका कुराहरु बाहिर आइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानमा तीव्र रुपमा लागेको छ । तर, यही समयमा कालापानी र लिपुलेकको विवाद आएको छ । भारतले आफ्नो राजनीतिक नक्सामा जसरी नेपाली भूमि पारेको छ, त्यो एउटा गम्भीर त्रुटी हो । नेपाली जनता, युवा र विद्यार्थीहरुले यसलाई सामान्य घटनाका रुपमा लिएका छैनन् । हामीले यसको बारेमा सरकारलाई पनि ध्यानाकर्षण गराएका छौँ । यदि हाम्रो देशको एक इञ्च भूभाग मिचियो भने पनि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन् । यी लगायत अतिक्रमणमा परेका भूभाग फिर्ता ल्याउनका लागि सरकारले चाँडोभन्दा चाँडो कुटनीतिक पहल गरेर हल गर्नका लागि नेपाली युवा, विद्यार्थीको तर्फबाट अनुरोध गर्दछौँ ।

सीमा सम्बन्धी विवादहरु पटकपटक आइरहेका छन् । यसको दीर्घकालीन समाधानका लागि के गर्न आवश्यक छ ?

सीमासम्बन्धी विवाद समाधान गर्नका लागि दुबै देशका सचिवस्तरको, विज्ञहरुको टिम पनि छ । तर, यी समूहले नेपाली जनताको जुन अपेक्षा थियो, त्यो अनुसार समस्याको समाधान गर्न सकिरहेको छैन । फेरि पनि भारतीय पक्षले बलमिच्याईं गर्यो भने त्यसको कानुनी बाटो अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेर भएपनि वा जनता सडकमा उतारेर भएपनि भारतको त्यो दादागिरि अन्त्य गरिनुपर्छ । तर, त्यो भन्दा पहिले कुटनीतिक पहलका लागि विशेष कदम चाल्नुपर्छ ।

भर्खरै मात्रै प्रधानमन्त्रीले आफ्ना सल्लाहकार परिवर्तन गर्नुभएको छ । मन्त्रीमण्डल पनि हेरफेर गर्ने कुरा आएको छ । तपाईकै पार्टीका नेताहरुले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन भनिरहँदा यो हेरफेरको विषयले के संकेत गर्छ ?

सरकारले गति लिन नसकेर हेरफेर गरिएको भन्ने विषय त सत्य होइन । सरकारले गति लिएकै थियो । तर, दुई ठूला पार्टीको एकता भएपनि प्रधानमन्त्रीको सचिवालयमा तत्कालीन एमालेका मान्छे मात्रै सचिवालयमा भए, एकताको सन्देश प्रधानमन्त्रीको सचिवालयमा देखिएन भन्ने खालका स्वरहरु तल्लोतहमा उठिरहेको कुरा थियो । यसलाई व्यवस्थित गरेर सचिवालय अझ चुस्तदुरुस्त बनाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीसंग शीर्ष नेताहरु र तल्लो तहका नेताककार्यकर्तामा थियो । त्यही चाहनालाई आत्मसाथ गर्दै  सचिवालयका केही साथीहरुलाई प्रधानमन्त्रीले राजीनामा माग्नुभएको हो । अब प्रधानमन्त्रीको सचिवालयलाई विषय विज्ञ बनाउने र तीव्र गतिमा काम गर्ने अभियानमा प्रधानमन्त्री लाग्नुभएको होला भन्ने हाम्रो बुझाई छ ।

जहाँसम्म मन्त्रीपरिषद्को हेरफेर छ, त्यो बिल्कुल प्रधानमन्त्रीकै अधिकारको कुरा हो । कसलाई हटाउने, कसलाई राख्ने भन्ने कुरा उहाँमै भर पर्छ । त्यसकारण यदि हेरफेर गर्ने हो भने देश विकासका लागि जुन गति उहाँले लिनुभएको छ, त्यसलाई पच्छ्याउन सक्ने, नेपाली जनताको भावनालाई आत्मसाथ गर्नसक्ने, नेपाली युवाहरुको भावना र चाहनालाई बोकेर हिंड्न सक्ने र थोरै समयमा धेरै काम गर्न सक्ने क्षमता र भावना भएका अनुहारहरु पर्नुपर्छ भन्ने हो । सबै समुदायका मानिसहरुले यो मन्त्रीपरिषद् हामी सबैको प्रतिनिधित्व गर्छ भन्ने अनुभूत गर्नुपर्यो । तर, त्यो भन्दा प्रमुख कुरा प्रधानमन्त्रीलाई सहज रुपमा काम गर्न मिल्ने र उहाँको गतिलाई बोक्नसक्ने व्यक्ति हुनुपर्यो ।

प्रधानमन्त्रीको स्वास्थ्यका कुरा पनि आएका छन् । आलोपालो सरकार चलाउने सहमतिका कुरा पनि पटकपटक आउने गरेका छन् । यसका बारेमा तपाईंको भनाई के हो ?

हामीले बुझे अनुसार आलोपालोको कुरा त त्यस्तो कहीँ भएको छैन । दुईवटा अध्यक्षमध्ये एउटाले सरकारको नेतृत्व गरिरहनु भएको छ भने अर्कोले पार्टीको काम गरिरहनुभएको छ । उहाँहरु पार्टी र मुलुक निर्माणमा लागिरहनु भएको छ । हामीले त्यो देखिरहेका छौँ । तर, दुईवटा पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर बनाउनका लागि कहीँकतै कुनामा बसेर दुई अध्यक्षबीच विवाद भए हुन्थ्यो, पार्टी फुटे हुन्थ्यो भन्ने खालका कुदृष्टिका स्वरहरु पनि हामी सुन्छौँ ।  त्यसले पार्टी, नेताहरुलाई कुनै असर पार्दैन । कम्रेड प्रचण्डले नै केपी ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्नुहुन्छ भनिसक्नु भएको छ । यो बीचमा पार्टी महाधिवेशन पनि हुन्छ । महाधिवेशनबाट पार्टीले जसलाई चुन्छ त्यही पार्टीको अध्यक्ष बन्छ ।

पार्टी एकिकरण पश्चात युवाहरुलाई जिम्मेवारीको दिने कुरा पनि बाँकी छ । त्यसको व्यवस्थापन कसरी होस् भन्ने चाहनुहुन्छ र तपाईंको व्यक्तिगत अपेक्षा के छ ? 

हामीले लामो समय अधिकारको लडाईं लडेर उपलब्धी हासिल गर्‍यौँ । थुप्रै युवा, विद्यार्थीहरुले त्याग र बलिदान गरे । त्यसकै कारण हामी यो ठाउँमा पुगेका छौँ । यो ठाउँमा पुगिरहँदा के खतरा देखिरहेको छ भने हामीले राजनीतिक नायकहरु उत्पादन गर्न नसक्ने अनि देशी, विदेशी प्रतिक्रियावादीहरुले सँधै अस्थिरता मच्चाइरहन विभिन्न किसिमका चलखेलहरु गरिरहने । झुटा नाराहरु दिएर नाटक मञ्चन भइरहेका छन् । यसले के संकेत गरिरहेको छ भन्दा राजनीतिक दलहरुले लामो संघर्षबाट स्थापित भएका युवा नेतृत्वहरुलाई जिम्मेवारी र अवसरबाट बञ्चिन गराउने, नयाँ राजनीतिक नायकहरु उत्पादन गर्न नसक्ने र भएकाहरुलाई जिम्मेवारी र अवसरबाट छुटाउने र षद्यन्त्रकारीहरुले झन् षड्यन्त्र गरिरहने एक किसिमको चित्र देखिन्छ ।

त्यसकारण युवाहरुलाई नेतृत्व दिन, उनीहरुको संरक्षण गरेर राजनीतिको मूलधारमा ल्याउन अब पनि नेतृत्वले कन्जुस्याँइ गर्‍यो भने विभिन्न रुप र रंगमा गलत मान्छेहरु आउने सम्भावना हुन्छ । यसले राजनीतिमा ठूलो दुर्घटना हुने खतरा छ । त्यसका लागि नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । यसको बारेमा नेतृत्वलाई भनेका पनि छौँ र उहाँहरु सचेत हुनुहुन्छ भन्ने हामीलाई लागेको छ । व्यक्तिगत कुरा गर्ने हो भने दुई दशकभन्दा बढी कम्युनिस्ट आन्दोलनमा लागेको युवाले मलाई यो जिम्मेवारी दिए हुन्थ्यो भन्दा पनि जुनसुकै जिम्मेवारी पनि सहजताका साथ पूरा गर्न तयार रहनुपर्छ । त्यो आत्मविश्वास मलगायतका युवा विद्यार्थीमा छ । अन्य धेरै देशको कुरा गर्ने हो भने ३० वर्ष नपुगेका, ४० वर्ष नपुगेका राष्ट्रप्रमुखहरु छन् । हाम्रो मुलुकमा ६० वर्ष नपुगेकाले कुनै अवसर नपाउने खालको नजिर बन्न लागेको छ । अन्य क्षेत्रजस्तै राजनीतिमा पनि अवकाश हुने परम्परा नहुने हो भने नयाँले मौका पाउँदैनन् । कति उमेर पुगेपछि अवकाश हुने कि कतिपटक प्रधानमन्त्री भएपछि अवकाश हुने वा कतिपटक पार्टी अध्यक्ष बनेपछि अवकाश हुने भन्ने किसिमका अवकाशका मापदण्ड हुनसक्लान् । पूराना नेताहरु अवकाश नहुने हो भने  दूर्भाग्य निम्तिन्छ ।

अन्त्यमा, उपनिर्वाचनको मिति पनि नजिकिँदैछ । यसलाई सरकारको लोकप्रियता नाप्ने निर्वाचनको रुपमा पनि लिइएको छ । नेकपा कत्तिको सफल रहला ?

यही मंसिर १४ गतेदेखि देशभर रिक्त रहेका ठाउँहरुमा उपनिर्वाचन हुँदैछ । वर्तमान सरकारले जुन किसिमले काम गरिरहेको छ, त्यसले गर्दा पनि उपनिर्वाचनमा सबै ठाउँ नेकपाले जित्छ । हामी ढुक्क छौँ । सरकारले समृद्ध नेपाल र सुखी नेपाली’को अभियान अघि सारेर काम गरिरहेको छ । त्यो अभियान पूरा गर्नका लागि पनि नेकपाका उम्मेदवारले उपनिर्वाचन जित्नुपर्छ । त्यसका लागि जनताले पनि साथ दिनेछन् भन्ने विश्वास लिएको छु ।