वंशिधर मिश्र, बंगलादेशका लागि नेपाली राजदूत


ADVERTISEMENT


भर्खरै बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल भ्रमण गर्नुभएको छ । बंगलादेशका लागि नेपाली राजदूतको जिम्मेवारी पाएको एक-डेढ महिनामा नै बंगलादेशबाट नेपालमा तीन दशकसम्म नभएको राजकीय भ्रमण गराउनु भयो । कसरी सम्भव भयो यो ?


ADVERTISEMENT

# # #


नेपाल र बंगलादेशबीचमा अत्यन्त सौहार्दपूर्ण वातावरण रहिआएको छ । नेपाल र बंगलादेशबीचको दूरी सडकलाई हेर्ने हो भने ४० किलोमिटरभन्दा कम रहेको छ । यति नजिकको देशसंग हाम्रो सौहार्दपूर्ण सम्बन्ध हुँदाहुँदै पनि आवागमन, यातायात, व्यापार व्यावसायका हिसाबले अत्यन्त कमजोर रहेको छ । १७ करोड जनसंख्या रहेको बंगलादेशबाट जम्मा २६ हजार यात्रुहरुले सन् २०१८ मा नेपाल भ्रमण गरेका छन् । एक देशका जनताले अर्को देशका जनतालाई माया गदौगर्दै पनि सम्बन्ध विस्तार हुन नसकिरहेको अवस्थामा मैँले बंगलादेशका लागि नेपाली राजदूतको जिम्मेवारी पाएको थिएँ । राजदूत पद बहाली गर्न जाँदा त्यहाँका महामहिम राष्ट्रपतिले मलाई भन्नुभयो कि म सारा संसार घुमेँ । तर, यति नजिकको नेपालमा भ्रमण गर्ने अवसर पाएको छैन । उहाँको त्यो सदासयतालाई ध्यानमा राखेर हामीले पहर गर्योँ र उहाँको अनुकुलताको समयलाई हाम्रो सरकारले स्वीकार गर्यो । यसरी ३७ वर्षपछि बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको हो ।

यो भ्रमणका उपलब्धीहरु के-के हुन् ? आगामी दिनमा नेपाल-बंगलादेशको सम्बन्ध कस्तो हुन्छ ?

भ्रमणका बेला औपचारिक सम्झौता त हामीले गरनौँ । तर, हाम्रो सम्बन्ध र परस्पर हित अगाडी बढ्न नसक्नुका कारणहरु हामीले छलफल गरेका छौँ । सबैभन्दा महत्वपूर्ण कुरा त के रह्यो भने बंगलादेशका राष्ट्रपतिको नेपालका राष्ट्रपति, प्रधानमन्त्री र उच्च ओहदाका मन्त्री र पूर्वप्रधानमन्त्रीहरुसंग कुरा हुँदाखेरि बंगलादेश नेपालको ‘सुखी नेपाल र समृद्ध नेपाली’को नारामा सहयोगी हुन चाहन्छ, साथ दिन चाहन्छ भनेर एउटा प्रतिवद्धता व्यक्त भयो ।

अर्को नेपाल र बंगलादेशको बीचमा व्यापार बढाउनुपर्छ भन्ने आवश्यकता बोध भयो । भ्रमण र जनस्तरको सम्बन्ध पनि अत्यन्तै न्यून छ । यसलाई एकदमै विस्तार गर्नुपर्छ भन्ने हो । यस्तै सम्पर्क सञ्जालका कुराहरुः हामीसंग अहिले हवाई सेवामात्रै प्रभावकारी रुपमा चलिरहेको छ । सतही यातायात अत्यन्त न्यून अवस्थामा छ । यी विषयहरुलाई तीव्रता दिनुपर्छ भन्ने छलफल भएको छ । अब बंगलादेशसंगको सम्बन्धले गति लिने कुरा यो भ्रमणले बढाएको छ ।

राष्ट्रपति हमिदको भ्रमण सकिएपछि बंगलादेशको तर्फबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
उहाँहरु अत्यन्त उत्साहित हुनुहुन्छ । दुईपक्षीय सम्बन्ध र व्यापार प्रर्द्धनका कुराहरुमा उहाँहरु मिलेर जान तयार हुनुहुन्छ ।

कुनैपछि दुई देशबीचको सम्बन्ध विस्तार, पर्यटन र व्यापार प्रर्द्धनका लागि ‘कनेक्टिभिटि’ले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अहिले नेपाल र बंगलादेशको ‘कनेक्टिभिटि’को अवस्थामा कस्तो छ ?

नेपाल र बंगलादेशको सम्बन्धको कुरा गर्दा मैँले चारवटा बृहद समूहमा विभाजन गरेको छु । एउटा सम्पर्क सञ्जाल नै हो । कनेक्टीभिटीमा हामी अहिले हवाई सम्पर्कमा मात्रै सीमित छौँ । त्यो पनि काठमाडौँ-ढाका मात्रै छ । जसमा दुईवटा, नेपालको हिमालय एयरलाइन्स र विमान बंगलादेशले मात्रै उडान भर्दै आएका छन् । यस हिसाबले हवाई सम्पर्क सीमित मात्रामा रही आएको छ । हामी यसलाई बढाउने पक्षमा छौँ । दोस्रो पूर्व क्षेत्रका हाम्रा सीमावर्ती सहरहरु भद्रपुर, विराटनगरबाट बंगलादेशका सहिदपुर भन्ने विमानस्थलमा १५ देखि २० मिनेटमा हवाई यात्रामार्फत पुग्न सकिन्छ । यो गर्न सकियो भने हाम्रो क्षेत्रीय कनेक्टिभिटी बढ्छ । यसले हाम्रो पूर्वी पर्यटनमा पनि प्रवद्र्धन गर्छ । अर्को महत्वपूर्ण भनेको सतही कनेक्टिभिटि नै हौ । सडक सञ्जाल नभएसम्म हामीले चाहेअनुसार मान्छे ल्याउन सक्दैनौँ । दुई पक्षीय सम्बन्ध पनि उचाईंमा पुग्न सक्दैन ।

हवाइजहाजको आवतजावतले मात्रै जनस्तरको सम्बन्ध विस्तार गर्न गाह्रो हुन्छ । त्यसकारण पहिले भएको बंगलादेश, भुटान, इण्डिया र नेपाल (बीबीआइएन) अवधारणा अनुसार ‘मोटर भेइकल एग्रिमेन्ट’ भएको थियो । तर, त्यो अगाडि बढ्न सकेन । भुटानले त्यसबाट हात झिक्यो । त्यसपछि बाँकी रहेका तीनवटा देशहरुले गरौँ भन्दा पनि त्यो हुन सकेको छैन । त्यो सम्झौता हामीले छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ । त्यसो भएमा नेपाल–भारत–बंगलादेश बस सेवा सबैभन्दा जरुरी छ । योसंग सम्बन्धित हरु कुरा के छ भन्दा आफ्नै मोटर लिएर एकअर्को देशमा जाने प्रावधान हुनुपर्छ । त्यो हामी गराउने पक्षमा छौँ । केही भिसाका समस्याहरु पनि छन् । त्यसको समाधानका लागि पनि हामीले काम गर्नुपर्छ । रेल कनेक्टिभिटिलाई पनि हामीले छलफल गर्नुपर्छ । अर्को भनेको जलमार्ग हो । हामीसंग कोसी, गण्डकीजस्ता ठूला नदीहरु छन् । जुन भारतको गंगा हुँदै बंगलादेशको गंगाजमुनामा मिसिन्छन् । यी नदीको माध्यामबाट पानीजहाजमार्फ हामी आवागमन र व्यापारका लागि सामान ओसारपोसार गर्न सक्छौँ ।

बंगलादेशसंगको हाम्रो व्यापार बढाउनका लागि अन्य आयामहरु के हुनसक्छन् ?

व्यापारका एउटा उपाय भनेको हाम्रो जलविद्युत हो । उहाँहरु हाम्रो ९ हजार मेगावाट जलविद्युत लिन तयार हुनुहुन्छ । तर, हामीसंग अहिले प्रयाप्त भइनसकेकाले त्यो भएको छैन । तर, पनि केही बचेको बिजुली भारतलाईसंगै बंगलादेशलाई समेत पठाउँदा राम्रो । बंगलादेश अरुभन्दा बढी र कम तिरेर भएपनि नेपालको बिजुली लिन तयार छ । किनकी भारतले कोइलाको बिजुली बंगलादेशमा सप्लाई गरिरहेको छ । जसले प्रदुषण बढिरहेको छ । दोस्रो कुरा भनेको बंगलादेशका पूजीँपतिहरुको लगानी पनि नेपालका लगाउन चाहन्छौँ । त्यसो भयो भने लगानीका कारण थन्किएका कयौँ जलविद्युत परियोजनाहरु अघि बढ्छन् र हामीलाई फाइदा हुन्छ ।

अर्को भनेको वस्तु व्यापार हो । जसमा हामी निरन्तर घाटामा छौँ । त्यसलाई कसरी सन्तुलन गर्नका लागि ‘पावर ट्रेड एग्रिमेन्ट’ (पीटीए) गरिनु पर्छ । बंगलादेशको बजार ठूलो भएकाले हाम्रा धागो, चिया, कफी, अदुवा, अलैँची लगायतका सामानहरु त्यहाँ पठाउनु पर्छ । अर्को महत्वपूर्ण भनेको हाम्रो पर्यटन हो । यसका लागि माथि भनिएका पूर्वाधार र कनेक्टिभिटीमा हामीले ध्यान दिनुपर्छ ।  बंगलादेशसंग राम्रो व्यवसाय भनेको ढुंगा हो । हाम्रो महाभारत श्रृंखलाका ढुंगाहरु बलियो पनि छन् । चुरेलाई नछोइकन महाभारतका पहाड काटेर त्यो गाउँमा वस्ती बसाउने र त्यहाँबाट आएका ढुंगा बंगलादेशलाई बेच्ने हो भने खर्बौँका ढुंगा बंगलादेश किन्न तयार छ । त्यसकारण ढुंगाको व्यापार पनि मैँले ठूलो देखिरहेको छु ।

नेपाली राजदूतको रुपमा तपाईंले भर्खरै कार्यभार सम्हाल्नुभएको छ । आफ्नो कार्यकालमा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई कहाँसम्म पुर्याउँछु जस्तो लाग्छ ?

मैँले माथि भनेका कुराहरु नै हुन् । मेरो प्राथमिकता भनेको कनेक्टिभिटिमा नै हुन्छ । सम्पर्क सञ्जाललाई विस्तार गर्ने । त्यो भयो भने अन्य कुराहरु गर्न सहज हुन्छ । ढाकाबाट बस चढेर काठमाडौँ आउने मेरो चाहना छ । बंगलादेश मेडिकल शिक्षाको हब पनि हो । त्यहाँ हाम्रा हजारौँ विद्यार्थीहरु चिकित्सा शिक्षाका लागि जाने गरेका छन् । उहाँहरुको समस्या समाधान र सहजीकरण कुरा त छँदैछ । नेपालका केही सामानहरु अड्किरहेका छन् । तिनलाई फकाउने काम गर्छु । यसरी हाम्रो सम्बन्धले गतिशिलता प्राप्त गर्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, बंगलादेशका तर्फबाट लामो समयपछि उच्चस्तरीय भ्रमण भएको छ । नेपालको तर्फबाट त्यसको तयारी केही छ ?

उहाँहरुले निमन्त्रण दिइसक्नु भएको छ । त्यो निमन्त्रणलाई औपचारिक पत्रका रुपमा पठाउने काममा म सहयोग गर्छु । त्यसपछि हाम्रो राष्ट्रपतिको पनि भ्रमण हुने सम्भावना रहेको छ । त्यो दुईपक्षीय छलफल पनि उपयुक्त मितिमा हुन्छ । नेपाल र बंगलादेशबीचको सम्बन्ध पहिलेको भन्दा प्रभावकारी रुपमा अगाडि बढ्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।