यतिबेला दलहरुलाई उपनिर्वाचनले छोपिसकेको छ । यसअघिको निर्वाचनमा तत्कालिन एमाले र तत्कालिन माओबादी केन्द्रको गठबन्धनलाई दुई तीहाई मत दिएका जनताले यस पटक के गर्छन ? प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली काँग्रेसले जनताको मन कत्तिको फर्काउन सक्यो ? अनि दुई तीहाई बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारको दुई बर्ष कति सफल रह्यो कति असफल ? लोकतन्त्रका न्यायाधीस जनताले यस पटकको निर्वाचनमा फैसला गर्दैछन् । नेकपा, काँग्रेस, साझा पार्टी लगायत यो चुनाबी रस्साकस्सीमा होमिएका छन् । देशै अलग गर्छु भन्दै जनमतसंग्रहको नारा लगाउँदै जन्मिएको सीके राउत सम्मको पार्टी जो सिँगो देशको पक्षमा उभिँदै बहुमतीय खेलको संसदीय राजनीतिमा जाँचिन खोज्दैछ । दलहरुले एक भएर  संविधान त दिएका छन् । तर देश कसरी अघि बढ्दैछ भन्ने स्पष्ट बाटो देखाउन सकिरहेका छैनन् । विकास र समृद्धिको भोकले जनता टड्पिरहेका छन् । दलहरु भने आ आफ्नै डम्फु बजाईरहेका छन् । सरकारको आलोचना चुलिँदो छ । प्रतिपक्षि काँग्रेसलाई टुकी बालेर खोज्नु पर्ने आरोप लाग्ने गरेको छ । पाँच बर्षे म्यान्डेट सकिन आधा आधि समय बाँकि रहँदा यो निर्वाचनले अब हुने आम निर्वाचनको समेत ‘ट्रेलर’ देखाउने बिश्लेषकहरु बताउँछन् । यही पृष्ठभूमिमा हिमालय पोष्टले निर्वाचनको मैदानमा रहेका सबै दलहरुका प्रभावशाली नेताहरुको बिचार जोख्न खोजिरहेका छौं । यसै मेसोमा यस पटक हामीले नेपाली कांग्रेसका युवा नेता नैनसिँह महरलाई भेटेका छौं ।

 

कांग्रेसलाई उप निर्वाचन कत्तिको लागिरहेको छ ?


ADVERTISEMENT


यो मध्यावधी चुनाव जस्तो पनि भएको छ । प्रदेश र केन्द्र सरकार निर्माण भईसके पछिको निर्वाचन हो । सरकारले जनताका खिलापमा गरेका तमाम कामहरुको परिणाम देखिने र प्रतिपक्षीको भुमिकाका बिषयमा जनताले गर्ने समिक्षाका रुपमा यस्लाई हेर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


तपाईहरुलाई प्रतिपक्षीमा बस्न जनताले म्यान्डेट दिएको दुई बर्ष पुग्दैछ । यतिबेला फेरी  कांग्रेसलाई भोट किन ?

हामी प्रजातन्त्रबादी पार्टी सबैका अधिकार, स्वतन्त्रता तथा विकासलाई पनि संगसंगै अघि बढाउने भन्छौं । जनताको लागि काम गर्ने प्रतिनिधी पार्टी नै नेपाली काँग्रेस हो । सयौं काण्डै काण्डले थिचिएको अधिनायकबादी सरकारलाई जनताले हैसियतमा पूर्याईदिने, सर्बसत्ताबादी सोच बोकेको जनबिरोधी सरकारलाई सबक सिकाउने छन् यो निर्वाचनमा भन्ने बिश्वासको माहोल सिर्जना भएको छ ।

राष्ट्रियताका सवालमा समेत सरकारले घुँडा टेकेको छ । देशको सिमा मिचिँदा सम्म पनि प्रधानमन्त्रीले यस्का बिरुद्ध बोल्न सकेका छैनन् ।

सरकार बिदेशीको बैशाखी बनेको स्पष्ट देखिएको छ । देश दुख्दा सरकार कानमा तेल हालेर बसेको छ । नेपाली कांग्रेस लगायतको सर्बदलीय बैठकले सरकारलाई सिमा मिचिएको बिषयमा अघि बढ्न म्यान्डेट दिँदै साथ दिँदा सम्म पनि सरकारले पुच्छर लुकाउनुले अब यो नेकपाको सरकारको औचित्य सकिएको पुष्टि भएको छ ।

यसकारण अब देश जोगाउने संवेदनशील क्षणमा हामी आईपुगेका छौं, राष्ट्रियता बलियो बनाउनुपर्ने अवस्था छ, यी तमाम कामहरुका लागि नेपाली काँग्रेसको बिकल्प छैन भन्ने आम जनताले बुझेका छन् ।

२०१६ सालमा बीपी कोईरालाले सगरमाथा नेपालको हो भनेर चीनलाई हस्ताक्षर गर्न लगाए । यसरी सँकटको घडीमा नेपाली काँग्रेसले नै देशलाई जोगाउने गरेको छ । अब पनि देश र जनताको पार्टी नेपाली काँग्रेस नै हो । त्यो फेरी पुष्टि हुँदैछ ।

जनताका दैनिक उपभोग्य सामग्रीहरुको मूल्यबृद्धि भईरहेको छ । सुनकाण्ड, सिन्डिकेट काण्ड, ठेकेदार काण्ड, मेडिकल काण्ड, निर्मला पन्त काण्ड, बालुवाटार काण्ड लगायतका काण्डहरु दिन प्रतिदिन बढिरहेका छन् । मन्त्रीपरिषद हेरफेरमा समेत हत्या आरोपी तथा बिदेशी नागरिकहरुलाई समेटिएको भन्दै आलोचना चुलिएको छ । महिलाको उपस्थिती क्याबिनेटमा दयनीय छ । सरकारले ल्याउने अधिकाँस बिध्येयकहरु बिवादास्पद छन् । करले थिलथिलो बनाईएको छ । बजेट खर्च गर्न नै सकिएको छैन ।

यसकारण संबिधानले पदत्त गरेका अधिकारहरुको संरक्षणका लागि समेत पनि जनताले नेपाली काँग्रेस नै खोज्न थालिसकेका छन् ।

यस अघि त काँग्रेसलाई जनताले भोटमा पछि पारे, के अब काँग्रेस सुध्रिएर परिवर्तन भएको हो ?

काँग्रेसले पाठ सिकेको छ । ईतिहाँस देखि बर्तमान सम्म तमाम परिवर्तनहरुको अगुवाई गरेको पार्टी प्रतिपक्षमा बस्दा हामीले आत्मसमिक्षा गरेका छौं । र जनतासंग अब गल्ती गर्दैनौं भनेर प्रतिबद्धता दोहोर्याएका छौं । हामी आपसमै जुधेर पनि शक्ति क्षयिकरण गर्न तिर लाग्यौं । यि सबै बिषयहरु बुझेर नै अब हामी एकताबद्ध भएका छौं । सिँगो नेपाली काँग्रेस एक भएको छ ।

निर्वाचनको संघारमा नेकपाले धेरै ठाउँमा आचार संहिता मिचेको छ । नेकपाले सत्ता, शक्ति र स्रोतको दूरुपयोग व्यापक गरिरहेको छ । नेकपाले आर्थिक चलखेल र अनियमितता गरिरहेको छ । यस्का बाबजुत पनि जनताको साथ नेपाली काँग्रेसलाई छ ।

काँग्रेसले चुनाव जित्ने आधार भनेकै जनता हो । जनता नेकपासंग सन्तुष्ट छैनन् । यस्कारण काँग्रेसका पक्षमा यस्पालि देशैभर माहोल फैलिएको छ ।

एकातिर नेकपाको सरकारले जनतालाई चिढ्याएको छ । अर्कातिर नेपाली काँग्रेस पार्टी भित्र बलियो बन्दै जनताका पक्षमा अघि बढ्न तयार भएर आएको छ । यस्कारण नेपाली काँग्रेसलाई जितको झण्डा फरफराउन कसैले रोक्न सक्ने अवस्था नै छैन ।

अन्त्यमा,  हुन गईरहेका निर्वाचन क्षेत्रहरुमा तपाई धेरै तिर पुग्नु भएको छ । जनता के भन्दैछन् ?

३७ जिल्लाका ५२ ठाउँहरुमा निर्वाचन भईरहेको  छ । पश्चिमको महाकाली देखि पूर्वको मेची सम्म पुग्दै गर्दा सबै ठाउँमा जनता उत्साहित भएका छन् । नेपाली काँग्रेस हौसिएको छ । यो निर्वाचनले सरकार निर्माण या फेरबदल हुने होईन भन्ने जनतालाई पनि थाहा छ, तर यो निर्वाचनबाट जनताले नेकपालाई सबक सिकाउँदैछन् । बिकास र समृद्धिका लागि समेत आवश्यक पार्टी काँग्रेस नै हो भन्ने सबैले बुझिसकेका छन्, भोट चार तारे पार्टीको रुख चिन्हमा नै हाल्नुपर्छ भन्ने देशब्यापी माहोल छ ।