काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)को सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’


ADVERTISEMENT

# # #


उनले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।  १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ ।

उद्घाटन पहिले नै बुधबारबाट सुरु भएको महिला भलिबलमा नेपालले जित हासिल गरेर यस पटकको सागमा धेरै पदक जित्ने संकेत देखाएको बताए । नेपालले राम्रै तयारी गरेकोले सागमा नतिजा राम्रै आउने उनको विश्वास छ । उनले भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए ।

मन्त्री विश्वकर्माले महिला भलिबलको उद्घाटन समारोहमा देशका ख्याँतिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने, ‘सबै हिसाबले तयारी पुरा भैसकेको छ ।’ सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ ।

सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए । मन्त्री विश्वकर्माले भने,‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’
दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए ।

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाँसिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।

सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।