काठमाडौं – नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष फुटलबको पहिलो खेलमै जित हात पार्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो अन्तरको जित हात पारेको छ ।


ADVERTISEMENT


दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले खेलको सुरुमै पहिलो गोल गर्दै १–० को अग्रता लियो । नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । श्रेष्ठले खेलको पाँचौं मिनेटमा छ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा गरेका प्रहार गोलमा परिणत भयो ।


ADVERTISEMENT

# # #


खेलको अधिकांश समय दबाब सृजना गर्न सफल रहेको नेपालले भुटानलाई गोल गर्न पटक पटक गरेको प्रयास असफल पारेको थियो । भुटानले आफ्नो पहिलो खेलमा बङ्गलादेशमाथि १–० को जित हात पारेको थियो ।

खेलको ३२ औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो गोलका लागि नेपालले ४५ मिनेट कुनुपर्यो । दोस्रो हाफको ५० औं मिनेटमा नेपालले गोल अग्रता दोब्बर पार्यो । सुजल श्रेष्ठले दोस्रो गोल गर्दै नेपालको अग्रतालाई २–० पारे ।

६५ औं मिनेटमा अभिषेक रिजालले थप एक गोल गर्दै नेपालको अग्रतालाई तेब्बर पारे । मिक्चेन तामाङले खेलको ७७ औं मिनेटमा थप एक गोल गर्दा नेपालले ४–० को अग्रता लियो । भुटानका लागि कप्तान चेञ्चो गेल्सी र गेलसिङ जेम्पोले गरेको प्रयासहरु असफल भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलङ्काको सामना गर्नेछ । उक्त खेल बुधबार पाँच बजे दशरथ रङ्गशालामा खेलाइनेछ ।