मंसिर – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने बताए ।


ADVERTISEMENT

# # #


उनले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सिर्जना भएको बताए। आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिवद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गरे । उनले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिए ।

यस्तै छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए । उनले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने कुरा उल्लेख गरे ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताए । उनले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने बताए

तीन दिनसम्म चल्ने कार्यक्रममा संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, सात प्रदेशका सभामुख उपसभामुख, कर्मचारीलगायतको सहभागिता रहेको छ ।