काठमाडौँ – पोखरामा आजदेखि सुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा साबिक विजेता पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । पोखराले प्रतियोगिताको पहिलो खेलमा काठमाडौँ गोल्डेन्स वारियसविरुद्ध ९ विकेटको विशाल जित हात पारेको हो ।


ADVERTISEMENT


आईतबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो । ११६ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान छिरेको पोखराले १४.१ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पूरा गर्‍यो । पोखराका लागि कुशल भुर्तेलले उत्कृष्ट पारी खेले । प्रतियोगिताको पहिलो अर्धशतक हानेका उनले ४३ बलमा नटआउट ६५ रनको योगदान दिए । त्यसक्रममा उनले ४ चौका र ५ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै रविइन्दर सिंह ३२ बलमा ५ चौका र एक छक्कासहित ३८ रनमा नटआउट रहे । आशिफ शेखले १४ रन जोडे ।

काठमाडौँका लागि सुसन भारीले एक विकेट लिए ।

यसअघि ब्याटिङतर्फ काठमाडौँका लागि सुबोध भाटीले आक्रामक इनिङ खेले पनि अन्य ब्याट्सम्यानको ब्याट चलेन । भाटीले २९ बलमा ४ चौका र ४ छक्को मदतमा ४५ रन जोड्दा गौरव तोमार १३ रनमा आउट भए । सुसन भारीले १० रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि कुशल मल्ल्, ललित नारायण राजवंशी र राशिद खानले समान २-२ विकेट लिए । सर्वजित लद्दा र पर्थमेस डाकेका नाममा १-१ विकेट रह्यो ।