इलाम– आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा राजनीतिक दलले तत्काल रिहाइको माग गरेका छन् ।


ADVERTISEMENT


दलहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन् । आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका फागोलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको उनका परिवारजनले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सूर्योदय नगरपालिकास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत नौवटा दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागोको रिहाइका लागि पहल गर्न राजनीतिक, दल, नागरिक समाज, अधिकारकर्मी र प्रहरी प्रशासनसँग माग गरेका हुन् । उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो ।

दलहरूले जारी गरेको विज्ञप्तिमा भने उदय त्यस दिन फिक्कलमै रहेको र गोर्खाल्याण्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ । उदय निर्माण व्यवसायीका रूपमा काम गरिरहेकाले गोर्खाल्याण्ड आन्दोलनसँग उदयको कुनै संलग्नता नभएको दाजु शरणले बताए ।

उदयको रिहाइको पहल गरिदिन माग गर्दै सूर्योदय नपा–१० का वडाध्यक्ष पेमाउगेन लामासहितको टोली जिल्ला प्रशासन कार्यालय, इलाम आएको थियो । पक्राउ परेका उदयको रिहाइका लागि नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भारतीय पक्षसँग आग्रह गरेका छन् । रासस